काठमाडौँ, १० फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सहायक पदमा नाम निकालिदिने भनी घुस लिँदालिँदै राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय मकवानपुरका सूचक मिठाराम भट्टराईलाई थलोमा नै पक्राउ गरेको छ ।
आयोगले आज जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार सूचक भट्टराईले मकवानपुरका एक व्यक्तिसँग रु एक लाख घुस लिँदालिँदै आयोगको क्षेत्रीय कार्यालयको टोलीले आज पक्राउ गरेको थियो ।
सूचक भट्टराईलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
यस्तै आयोगले विद्यालयका लागि प्राप्त भएको रकम दुरुपयोग गरेको अभियोगमा धनुषा चक्रर–१ पोखराभिण्डास्थित राष्ट्रिय प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र मण्डल र प्रधानाध्यापक अनिताकुमारी मण्डलले रु १५ लाख एक हजार ३३ हिनामिना गरेको अनुसन्धानबाट खुलेको देखिएको छ । उनीहरुलाई हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जानकारी दिएको छ ।
प्रतिक्रिया