‘रुद्रको आँसु’बाट राम्रो आम्दानी

इनेप्लिज २०७१ फागुन १० गते १:५६ मा प्रकाशित

1पाँचथर, १० फागुन । एकतीन गाविसका बासिन्दाले परीक्षणका लागि रोपेको रुद्राक्षबाट राम्रो आम्दानी हुन थालेको छ ।

पूर्वका भोजपुर, सोलुखम्बुलगायत जिल्लामा मात्रै हुने रुद्राक्षको यस जिल्लामा पनि परीक्षणका रुपमा खेती हुन थालेको छ । रुद्राक्ष रुद्र अर्थात् शिवको आँसु मानिन्छ ।

एक, नौ, छमुखेलगायत रुद्राक्षको राम्रो आम्दानी हुने स्थानीयवासी मेदनी खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो–“अहिले यस गाविसका विभिन्न वडाका बासिन्दा मिलेर रुद्राक्षको खेती गर्ने उद्देश्यले परीक्षणका लागि रुद्राक्षको बिरुवा ल्याई रोपेका छौँ ।”

एकतीन–१ का बहादुर केरुङले लगाएको रुद्राक्षको एउटा बोटबाट मात्रै रु दुई लाखसम्म आम्दानी हुने गरेको छ । उहाँले भन्नुभयो–“अन्य जिल्लामा खेती गरेको देखेर आफूले पनि हुन्छ कि भनेर रोपेको रुद्राक्षबाट दुई वर्षमा दुई लाख रुपैयाँको बिक्री गरेको हुँ, अरू साथीहरुले पनि ल्याएर रोपेका छन्, उनीहरुले पनि केही रकम चाहिँ कमाएका हुन सक्छन् ।”

ओसिलो र औलमा रुद्राक्षको बिरुवा राम्रो सप्रने बताइन्छ । अहिले राम्रैसँग बिरुवा हुर्कंदै गएकाले सप्रने आशा त्यस भेगका स्थानीय बासिन्दाको छ । यस्तै जिल्लाका अन्य गाविसका बासिन्दाले पनि रुद्राक्षको बिरुवा फाटफुट रोपेको जिल्ला वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया