सहमति नभए प्रक्रियाबाटै संविधान: नेता देउवा

इनेप्लिज २०७१ माघ २९ गते १४:३५ मा प्रकाशित

deuba4खोटाङ, २९ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान बनाउने जिम्मेवारी काँग्रेसको काँधमा आएकाले सहमति नभए प्रक्रियाबाट भएपनि संविधान जारी गरेरै छाड्ने बताउनुभएको छ ।

खोटाङको चिसापानीमा निर्माण गरिएको स्वर्गीय हर्कबहादुर राईको सालिक अनावरण कार्यक्रममा उहाँले एकीकृत (नेकपा)माओवादी लगायत दलले अवरोध गरिरहे प्रक्रियामा गएर भएपनि संविधान जारी गरी छाड्ने दृढता व्यक्त गर्नु भयो ।

पहिलो संविधानसभाबाट ठूलो दल बनेको एमाओवादीले पहिले पनि संविधान जारी गर्न नसकेको र अहिलेको प्रमुख बाधक पनि एमाओवादी नै भएकाले समयमा संविधान जारी गर्न नसकिएको नेता देउवाले उल्लेख गर्नुभयो ।

एमाओवादी, मधेसवादी दल लगायतलाई राजनीतिक सहमतिमा ल्याएर संविधान लेख्ने प्रयास भइरहेको छ, नेता देउवाले थप्नुभयो, “अब पनि एमाओवादी नसच्चिए जनताले छाड्दैनन्, यसको परिणाम एमाओवादी आफैले भोग्नुपर्छ ।”

कार्यक्रममा काँंग्रेस केन्द्रीय सदस्य तथा सभासद् भीष्मराज आङ्दाम्बेले सहमतिका नाममा जनताको अधिकार कुण्ठित हुन नहुने धारणा राख्नु भयो ।

सो अवसरमा स्वर्गीय हर्कबहादुर राई स्मृति प्रतिष्ठानका सहसचिव बाजिन्द्र विष्टले चिसापानी क्याम्पसलाई रु एक लाख बराबरको पुस्तक उपलब्ध गराउनुभएको छ ।

प्रतिक्रिया