प्रधानमन्त्री कोइरालासँग मृत्यु शिविरबाट उम्केकी साराको भेट

इनेप्लिज २०७१ माघ २२ गते १०:४४ मा प्रकाशित

sushilकाठमाडौँ, २२ माघ । प्रधानमन्त्री सुशील कोइरालासँग आज दोस्रो विश्वयुद्धको अवधिमा नाजीहरुको मृत्यु शिविरबाट उम्केकी इजरायलकी सारा अट्जमनले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको छ ।

भेटका अवसरमा प्रधानमन्त्री कोइराला र साराबीच यहुदीविरुद्धको हिटलरको विनासकारी नरसंहार, इजरायलको जन्म, प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको इजरायल भ्रमण र नेपाल–इजरायल दौत्य सम्बन्धलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कोइरालाले नेपालले पनि विगतमा एक दशकभन्दा लामो सशस्त्र द्वन्द्वको पीडा भोगेको र त्यसमा परी १४ हजारभन्दा बढी नेपालीको मृत्यु, हजारौँको अङ्गभङ्ग र उठिबास भएको त्रासदपूर्ण अवस्थाबाट पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मुलुकलाई शान्तिको मार्गमा ल्याउनुभएको जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री कोइरालाले नयाँ बन्ने संविधानले मात्र सबै नेपालीको हक, अधिकार र पहिचानलाई संरक्षण र सम्वद्र्धन गर्ने अवगत गराउनुभएको थियो ।

सो अवसरमा मृत्यु शिविरबाट उम्केकी साराले युद्धको विभिषिकाबाट समाज, देश र विश्वलाई बचाउन सबैले निरन्तर प्रयास गर्नुपर्ने बताउनुभएको थियो । होलोकाष्ट अर्थात् सामूहिक हत्यामा झन्डै ६० लाख यहुदीलाई मृत्यु शिविरमा राखेर हत्या गरिएको र त्यसमध्ये धेरैको ग्यास च्याम्बरमा हत्या भएको उहाँको भनाइ थियो ।

पोल्याण्डमा जन्मिएकी सारा नाजीहरुको मृत्यु शिविरबाट १२ वर्षको उमेरमा उम्किनुभएको थियो । उम्किएको तीन महिनामा इजरायल पुग्नुभएकी सारा तीन वर्षपछि इजरायलको स्थापनामा लागी त्यहाँको रक्षा फौजमा भर्ना हुनुभएको थियो । सारा अहिले इजरायली र जर्मन राजदूतावासद्वारा दोस्रो विश्वयुद्धको यहुदी संहारको दुःखद घटनाको सम्झनामा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल आउनुभएको हो ।

प्रतिक्रिया