प्रक्रियाले सहमतिको बाटो अन्त्य गरेको छैनः मन्त्री आचार्य

इनेप्लिज २०७१ माघ १७ गते ६:०७ मा प्रकाशित

acharyaकाठमाडौँ, १७ माघ । आफ्नै घर आगनमा  विशेषज्ञ चिकित्सा सेवासहित निःशुल्क औषधि प्राप्त भएबाट धादिङ क्षेत्र १ अन्तर्गतका  बासिन्दा औधी खुसी भएका छन् ।

विपी हेल्थ फाउन्डेसन र विपी चिन्तन प्रतिष्ठानले नवलपरासीको पेनेसिया हर्वल्स कम्पनी एवम् ग्लोवल हेल्थ फाउन्डेसनको आर्थिक सहयोगमा सो क्षेत्रअन्तर्गत त्रिपुरेश्वर गाविसको खहरेस्थित नेत्रवती बहुमुखी सामुदायिक क्याम्पसको हातामा शुक्रबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिराखेको छ । शिविर आजसम्म हुने बताइएको छ ।

शुक्रबार मात्र त्रिपुरेश्वर, आगिञ्चोक, गुम्दी, सल्यानकोट, ज्यामरुङ, सल्यानटारका गरी करिब ४०० जनाले स्वास्थ्य परीक्षण गराएका शिविर संयोजक ध्रुवबहादुर पाण्डेले जानकारी दिनुभयो ।

शिविरमा स्वास्थ्य परीक्षणका क्रममा भिडियो ए–क्सरे, ए–क्सरे, रगत, दिसा पिसाब परीक्षणको प्रबन्ध मिलाइएको छ । शिविरमा फाउन्डेसनका अध्यक्ष चिकित्सक दिनेशविनोद पोखरेल, चिकित्सकहरु सुदीप पोखरेल, देवी गुरुङ, उमाकान्त भट्टराई,  सुशील शाक्य, सविन पोखरेल, इन्द्र पौडल, रजिना तुलाधर, सञ्जय कोइराला,  रिजम तिवारीलगायत २० जना संलग्न हुनुहुन्छ ।

शिविरमा स्वास्थ्य परीक्षण गर्दा तत्काल कुनै रोगको शल्यक्रिया गरी थप उपचार गर्नुपरेमा त्रिवि शिक्षण अस्पताल र अन्य अस्पतालमा व्यवस्थासमेत मिलाइएको संयोजक पाण्डेले जानकारी दिनुभयो ।

वन तथा भू संरक्षणमन्त्री महेश आचार्यले शिविरको शुक्रबार शुभारम्भ गर्दै नेपाली जनताको चाहनाअनुरुप संविधानसभाबाट चाँडै संविधान जारी हुने बताउनुभयो ।

उहाँले संविधान लेखनमा हाल देखिएको अवरोध वार्ता र सम्वादबाट छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्दै संविधान लेखनमा हाल सुरु भएको प्रक्रियाले सहमतिको बाटो अन्त्य गरेको छैन भन्नुभयो ।

फाउन्डेसनका अध्यक्ष पोखरेलले आफ्नो स्वास्थ्य परीक्षण गर्न अस्पतालसम्म जान नसक्ने ग्रामीण विपन्न जनतालाई उनीहरुकै आगनमा विशेषज्ञ चिकित्सा सेवा र निःशुल्क औषधि प्रदान गर्न शिविर आयोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया