जनपरिचालनसहित सडक सङ्घर्षमा जानुपर्नेमा जोड

इनेप्लिज २०७१ माघ १५ गते १४:५७ मा प्रकाशित

puspa-kamal-dahalकाठमाडौँ, १५ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहमतिका आधारमा संविधान जारी गराउनका लागि आफूहरू जनपरिचालनसहित सडक सङ्घर्षमा जानुपर्नेमा जोड दिनुभएको छ ।

एमाओवादी पार्टी कार्यालय पेरिसडाँडामा आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा उहाँले ‘विगतका सहमति तथा सम्झौतालाई अक्षरशः स्वीकार गरेर अगाडि बढ्ने पक्षमा सत्तारुढ दल नदेखिएकाले’ सडक सङ्घर्षको विकल्प छैन भन्नुभयो ।

‘‘नेकपा एमाले र नेपाली काँग्रेसका शीर्ष नेतृत्वमा रहेका व्यक्ति एमाओवादी संविधानसभा छाडोस् भन्ने पक्षमा छन्, अन्तिम समयसम्म संविधानसभाबाटै सहमतिमा संविधान जारी गर्ने पक्षमा लाग्नुपर्छ, त्यसो नभए मात्र अर्को विकल्प खोज्नुपर्छ ’’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै एमाओवादीका केन्द्रीय सदस्य पुष्पविक्रम मल्लले भन्नुभयो ‘‘ संविधानसभाका अध्यक्षले पनि पदीय मर्यादा बिर्सेर प्रस्तुत भए, अघिल्लो पटक जेठ १४ गते संविधानसभाको बैठक राखौँ भन्दा रगतको खोलो बग्छ भन्ने सभाध्यक्ष यस पटक सत्तारुढ दलको प्रवक्तामा प्रस्तुत भए, यो विषयमा जनतालाई जानकारी गराउनुपर्छ । ’’

‘‘माघ ११ गते बलजफ्ती गरेरै प्रश्नावली समिति बनाए, त्यसले परिवर्तनका एजेन्डा धरापमा पर्ने स्थिति देखिएको छ, संविधानसभामा पनि त्यसको प्रतिवाद भयो, अब सडकमा पनि गतिलो दबाब दिनुपर्छ ’’ बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको भनाइ उदृत गर्दै केन्द्रीय सदस्य सूर्यमान दोङले भन्नुभयो ।

पार्टी प्रवक्ता दीनानाथ शर्माले भने आजको बैठकमा अध्यक्ष दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माणमा सहमति हुन नसक्नाको कारण, सत्तारुढ दल किन सहमति चाहँदैननलगायत विषयमा धारणा राखेको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा १३  राज्य समितिका इन्चार्जले रिपोर्ट पेस गरेको र शुक्रबार पोलिटब्युरोसम्मको बैठक बस्ने तथा शनिबार पुनः केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

बैठकमा धारणा राख्ने राज्य समितिका इन्चार्जले पहिचानसहितको सङ्घीयताका विषयमा जनतालाई राम्रोसँग बुझाउन नसकिएको भन्दै त्यसको ठोस अवधारणा ल्याउन शीर्ष नेतृत्वलाई आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया