अमेरिकाको साउथ क्यारोलाइनाको एक गिर्जाघर (चर्च)को पूर्व-प्राथमिक विद्यालय (प्रिस्कूल)बाहिर ठक्कर दिई दुई बालबालिका र एक शिक्षकलाई गम्भीर रूपमा घाइते बनाई फरार रहेका अभियुक्त पक्राउ परेका छन् ।
प्रहरी अधिकारीहरूले घटनालाई “जानीजानी गरिएको हमला” भनेका छन्।
३६ वर्षीय जस्टिन कोलिन एडम्सलाई घटना भएको केही घण्टापछि पक्राउ गरिएको हो। उनलाई तीनवटा हत्या प्रयासको अभियोगमा आरोप लगाइएको छ। अदालतले उनलाई धरौटी बिना थुनामा राख्ने निर्णय गरेको छ।
प्रहरीका अनुसार एडम्सले पहिलोपटक चर्चको खेल मैदान (प्लेग्राउन्ड)मा गाडी चलाएर १२ वर्षीय बालकलाई ठक्कर दिए। त्यसपछि उनले सुरक्षित ठाउँ खोज्दै भागिरहेका बालबालिकातर्फ गाडी दौडाए र एक शिक्षक समेतलाई ठक्कर दिएका थिए ।
त्यसपछि एडम्सले फुटपाथतर्फ मोडिएर १० वर्षीय बालकलाई ठक्कर दिए । उनि गाडी तल च्यापिएका थिए। चमत्कारिक रूपमा बालक बाँच्न सफल भए। उनका आमा अदालतमा भावुक हुँदै भनिन्, “भगवानको कृपाले मेरा छोरासहित अरू पनि बाँच्न सफल भए। अब मलाई सबै बालबालिकाका लागि न्याय चाहिएको छ।”
शिक्षक अझै अस्पतालमा गम्भीर अवस्थामा छन् भने एक बालकको उपचारपछि रिहा गरिएको छ। घटनापछि एडम्स भागेका थिए । प्रहरी, उदग्रबिमान (हेलिकप्टर), मानव रहित उपकरण (ड्रोन )मार्फत खोजी गरियो। अन्ततः उनलाई गिर्जाघर नजिकैको डुङ्गामा भेटियो।
अभियुक्तका वकिलले बताए अनुसार, एडम्स दुई हप्ता अघि मानसिक स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना भएका थिए । उनलाई उदासीपन (डिप्रेशन)को औषधि लेक्साप्रो दिइएको थियो। उनीमाथि आमा माथिको आक्रमणको आरोप समेत लागेको छ । उनको अर्को सुनुवाइ जुन १३ मा हुनेछ।
प्रतिक्रिया