ग्रिसमा आतङ्कको योजना असफल: बैंकमा बम राख्न खोज्ने महिलाको विस्फोटमा मृत्यु

इनेप्लिज २०८२ वैशाख २० गते १६:५५ मा प्रकाशित

ग्रिसको उत्तरी शहर थेस्सालोनिकीमा शनिबार बिहान ५ बजे एक महिलाको हातमै बम विस्फोट हुँदा ज्यान गयो। प्रहरीले जानकारी दिएको अनुसार, ती ३८ वर्षीया महिला बैंकबाहिर बम राख्न लागिरहेकी थिइन् तर त्यसअघि नै विस्फोट भयो। विस्फोटका कारण वरपरका पसलहरू र सवारी साधनहरूमा क्षति पुगेको छ।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार, “उनी विस्फोटक यन्त्र बोकेर बैंकको एटीएम नजिक राख्न लागेकी थिइन्, तर बीचमा केही गडबड भई बम उनको हातमै विस्फोट भयो।” अस्पताल लगिएको केही समयमै ती महिलाको मृत्यु भयो।

प्रहरी अनुसार मृतक महिलाको विगतमा लागूपदार्थ कारोबार, वेश्यावृत्ति, चोरी र डकैतीमा संलग्नता रहेको थियो। संगठित अपराध विभागले घटनाको अनुसन्धान गरिरहेको छ । महिला चरम वामपन्थी समूहसँग आवद्ध थिइन् या थिइनन् भने बारे छानबिन भइरहेको सिबिएसन्यूजले जनाएको छ ।

ग्रिसमा विगतमा पनि संगठित अपराध समूह र चरमपन्थी विचारधाराबाट प्रेरित विस्फोटहरू हुँदै आएका छन्। सन् २०२४ मा पनि एक व्यक्तिले एथेन्सको आवासगृहमा बम बनाउने क्रममा विस्फोटमा ज्यान गुमाएका थिए। सो आवासगृह (अपार्टमेन्ट)मा रहेकी महिलाको अवस्था गम्भीर भएको थियो।

यस वर्षको अप्रिलमा “क्रान्तिकारी वर्ग संघर्ष” नामक समूहले रेल सेवा कार्यालय नजिक र श्रम मन्त्रालय नजिक बम राखेको जिम्मेवारी लिएको थियो। ती विस्फोटहरू राज्यविरुद्ध सशस्त्र संघर्षको संकेत भएको उनीहरूले दाबी गरेका छन्।

प्रतिक्रिया