अमेरिकी न्याय विभागले कोलोराडो राज्य, डेन्भर शहर र केही स्थानीय नेताहरूविरुद्ध संघीय अदालतमा मुद्दा दायर गरेको छ।
मुद्दाको दाबी अनुसार, यी क्षेत्रहरूमा लागू गरिएको तथाकथित “शरणस्थल ” नीति गैरकानुनी आप्रवासीहरूलाई देश निकाला गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनका प्रयासमा बाधा पुर्याइरहेको छ।
डेन्भरको संघीय अदालतमा दायर मुद्दामा भनिएको छ, “संयुक्त राज्य अमेरिकाको आप्रवासन नियन्त्रणमा सर्वोच्च अधिकार रहेको छ।” मुद्दामा अरोरा शहरको एउटा विवादास्पद आवासगृह (अपार्टमेन्ट )भवनको पनि उल्लेख गरिएको छ, जुन राष्ट्रपति ट्रम्पले गत वर्ष भेनेजुएलाली गिरोह ट्रेन डे आरागुवाद्वारा नियन्त्रणमा लिइएको दाबी गरेका थिए।
स्थानीय अधिकारीहरूले ट्रम्पको दाबीलाई अतिरञ्जित भने पनि सो आवासगृह (अपार्टमेन्ट )क्षेत्रमा गिरोहद्वारा आतङ्क फैलाइएको स्वीकार गरेका छन्।
न्याय विभागले यस्तो कानून र शहरका नीति औंल्याउँदै “यी नीतिहरू संघीय आप्रवासन कानूनको कार्यान्वयनमा जानीजानी बाधा पुर्याइरहेका छन्।”
मुद्दामा समावेश गरिएका प्रमुख नामहरूमा गभर्नर जारेड पोलिस, कोलोराडो महान्यायाधिवक्ता फिल वाइजर, डेन्भरका नगर प्रमुख माइक जोनस्टन र डेन्भर शेरिफ एलियास डिगिन्स रहेका छन् ।
गभर्नरको कार्यालय रनगर प्रमुख को तर्फबाट प्रतिक्रियाहरू आएका छन् । “कोलोराडो कुनै शरणस्थल राज्य होइन, हामी सबै तहका कानुन पालना गर्छौं,” भन्दै अदालतको निर्णयलाई मान्ने जनाइएको छ।
यसअघि पनि न्याय विभागले यस्तै मुद्दा शिकागो र रोचेस्टर, न्यूयोर्कमा दायर गरिसकेको छ।
प्रतिक्रिया