“एन्थोनी अल्बानीजेको ऐतिहासिक पुनःनिर्वाचन: अष्ट्रेलियाली राजनीतिमा नयाँ युगको सुरुवात”

इनेप्लिज २०८२ वैशाख २० गते १२:३५ मा प्रकाशित

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजे २१ वर्षपछि लगातार दोस्रो कार्यकाल जित्ने पहिलो प्रधानमन्त्री बनेका छन्। शनिबार सम्पन्न आम चुनावमा विपक्षी नेता पिटर डटनले हार स्वीकार गर्दै प्रधानमन्त्रीलाई बधाई दिए। उनले भने, “हामीले यो चुनावमा अपेक्षित प्रदर्शन गर्न सकेनौं र म त्यसको पूर्ण जिम्मेवारी लिन्छु।”

एपीका अनुसार अष्ट्रेलियन चुनावी आयोगका अनुसार १५० सिट रहेको संसदको तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) मा लेबर पार्टी(श्रम दल)ले ७० सिट जितेको अनुमान गरिएको छ। डटनको नेतृत्वमा रहेको रूढीवादी गठबन्धनले मात्र २४ सिटमा अग्रता लिएको देखिएको छ भने स्वतन्त्र र साना दलहरूले १३ सिटसम्म जित्ने सम्भावना छ।

चर्चित चुनाव विश्लेषक एन्टोनी ग्रीनका अनुसार लेबर पार्टी(श्रम दल)ले ७६ सिट जितेर बहुमतको सरकार बनाउन सक्नेछ। डटनको गठबन्धनले अल्पमत सरकार बनाउने पनि कुनै सम्भावना नरहेको उनले बताए।

चुनावको मुख्य मुद्दा ऊर्जा नीति र महँगी रह्यो। डटनले सरकारको खर्चले मुद्रास्फीति र ब्याजदर बढाएको आरोप लगाउँदै २०% भन्दा बढी सार्वजनिक सेवा क्षेत्रमा कटौती गर्ने योजना प्रस्तुत गरेका थिए। उनले आणविक ऊर्जामा जोड दिएका थिए भने अल्बानीजेको दलले यसलाई अमेरिकी शैलीको विभाजनकारी राजनीति भन्दै विरोध जनायो।

प्रधानमन्त्री अल्बानीजेले चीनसँगको व्यापार सम्बन्ध सुधारिएको र प्रतिबन्ध हटाएर अष्ट्रेलियालाई ठूलो आर्थिक राहत मिलेको उल्लेख गरे। उनले भने, “हामी एकता चाहन्छौं, विभाजन होइन।”

प्रतिक्रिया