एमाले स्थायी कमिटीः प्रस्ताव निर्माण समिति गठन सकारात्मक

इनेप्लिज २०७१ माघ १५ गते १४:१२ मा प्रकाशित

umlकाठमाडौँ, १५ माघ । नेकपा एमालेको आज बसेको स्थायी कमिटीको पाँचौँ बैठकले यही माघ ११ गते संविधानसभाबाट विवादित विषयमा प्रश्नावली तयार गर्न ‘प्रस्ताव निर्माण समिति’ गठन हुनुलाई सकारात्मक ठान्दै सो कदमले संविधान निर्माणको कामलाई सुनिश्चित बनाउन योगदान पुगेको ठहर गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय बल्खुमा बसेको सो बैठकमा माघ ८ गतेभित्र संविधान जारी गर्ने संविधानसभाको सङ्कल्प र जनताको अपेक्षा विपरित एनेकपा माओवादी नेतृत्वको मोर्चाको अनुत्तरदायी व्यवहार र अवरोधका कारण पूरा हुन नसकेको पनि ठहर गरेको छ ।

बैठकपछि महासचिव ईश्वर पोखरेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा प्रश्नावली निर्माणको प्रक्रिया प्रारम्भ भएपनि वार्ता र संवादको माध्यमबाट सहमति खोज्ने प्रयास जारी नै रहेको र अहिले पनि नेकपा एमाले सम्भव भएसम्म सहमति कै माध्यमबाट अगाडि बढ्न चाहेकोमा जोड दिँदै विपक्षी दललाई बहिष्कार, निषेध र सडक आन्दोलनको बाटो छाडेर सहमतिको प्रक्रियामा सामेल हुन पुनःआह्वान गरेको उल्लेख छ ।

बैठकले विगत केही दिनयता बजारमा खाना पकाउने ग्यासको हाहाकार सिर्जना भएर सर्वसाधारण जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको स्थितिप्रति चिन्ता व्यक्त गर्दै कालोबजारियाको नाफाखोर प्रवृत्ति, गैरजिम्मेवार व्यवहार र बदनियतपूर्ण कदम रोक्न सरकारसँग माग पनि गरेको छ ।

प्रतिक्रिया