नेपाली काँग्रेसद्वारा संवादका लागि गम्भीर हुन अपिल

इनेप्लिज २०७१ माघ ६ गते १४:०६ मा प्रकाशित

koirala-deuba-paudel-nepali-congressकाठमाडौँ, ६ माघ । नेपाली काँग्रेसले सबै किसिमका विवाद र मतभेदको समाधान विधि, नियम र संवादका माध्यमबाट गर्न सकिने विश्वास व्यक्त गर्दै सबै पक्षलाई संवादका लागि गम्भीर हुन अपिल गरेको छ ।

संविधानसभाको चालु बैठकलाई सुचारु गर्न र संविधान लेखनका सन्दर्भमा सहमति हुन बाँकी रहेका विषयहरु संविधानसभा नियमावली बमोजिम गहन संवाद, विधि र प्रक्रियाबाट टुङ्गो लगाउन सो पार्टीले हार्दिक अनुरोध पनि गरेको छ ।

नेका संसदीय दलका नेता एवम् प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको संसदीय दलको बैठकले सो अपिल गरेको हो ।

बैठकपछि दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा गएराति एनेकपा माओवादी र उसँग मोर्चामा आबद्ध संविधानसभाका सदस्यहरुद्वारा बैठकमा अवरोध सिर्जना गरी सुनियोजित रुपमा सभाअध्यक्षलाई समेत आफ्नो कारबाही अगाडि बढाउन नदिई प्रधानमन्त्री एवम् पार्टी सभापति कोइराला, नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी ओली, उपाध्यक्ष विद्या भण्डारीलगायत सभासद् एवम् सचिवालयमा कार्यरत मर्यादापालकमाथि गरिएको आक्रमणको निन्दा गर्छ भनिएको छ ।

साथै, संविधानसभा हलका कुर्सी र सञ्चार उपकरणको तोडफोड जस्तो अमर्यादित, अराजक, गैरसंसदीय र घोर अनुशासनहीन काम कारबाहीको निन्दासमेत बैठकले गरेको छ ।

विज्ञप्तिमा बैठकले एनेकपा माओवादीलगायत विभिन्न राजनीतिक दलहरुको आह्वानमा गरिएको आजको नेपाल बन्दका क्रममा बन्दकर्ताले जबरजस्ती सर्वसाधारणका पसल तोडफोड, आगजानीलगायतको आतङ्कपूर्ण स्थितिले नागरिकको स्वतन्त्रता हनन भएको ठहर गरेको जनाइएको छ ।

साथै, संविधानसभामा सक्रिय हुनुपर्ने संविधानसभाका सदस्यहरुबाट भएका असंसदीय, अमर्यादित क्रियाकलापबाट त्रसित नभई धैर्य र संयमतापूर्वक संविधान निर्माणको कार्यलाई परिणाममा पु¥याउने कार्यमा सहयोग र समर्थन गर्न पनि बैठकले आह्वान गरेको छ ।

प्रतिक्रिया