रानीबारी वनलाई अध्ययन सिकाइ केन्द्र बनाइँदै

इनेप्लिज २०७३ असोज १६ गते ६:३० मा प्रकाशित

banकाठमाडौँ, १६ असोज । राजधानीको मुटुमा रहेको रानीबारी सामुदायिक वनलाई पक्षी तथा जैविक विविधता संरक्षण सिकाइ केन्द्र बनाउने कार्यको थालनी भएको छ ।

परम्परादेखि नै राजाहरुको दिवाली पूजा हुने वनका रुपमा रहेको रानीबारी विसं २०५७ पछि सामुदायिक वनका रुपमा व्यवस्थित र संरक्षण हँुदै आएको छ । रानीबारी वन काठमाडौँ सहरका बीचमा ६.९५ क्षेत्रफल हेक्टरमा अवस्थित प्राकृतिक वन हो ।

उक्त वनलाई रानीबारी सामुदायिक वन उपभोक्ता समिति र नेपाल पक्षी संरक्षण सङ्घको सहकार्यमा जैविक विविधता संरक्षण सिकाइ केन्द्र बनाउन लागिएको हो । सिकाइ केन्द्र बनाउन गत भदौ १३ गते दुवै संस्थाबीच पाँच वर्षका लागि सम्झौता भएको छ । सानो क्षेत्रफल भए पनि यो वन जैविक विविधताले धनी मानिन्छ । धार्मिक र सांस्कृतिक महत्वको यो वन बिहान घुमफिरका लागि पनि उपयुक्त छ ।

रानीबारी वन सहरको बढ्दो जनसङ्ख्यालाई स्वच्छ वातावरण प्रदान गर्नका लागि मात्र नभइइ यस विषयका विद्यार्थी र शोधार्थीका लागि पनि अध्ययनको केन्द्र बनाउन आफूहरु लागेको वनका अध्यक्ष सन्तोषविक्रम शाह बताउनुहुन्छ । “जैविक विविधता संरक्षण सिकाइ केन्द्र वनको एक क्रियाकलाप हो । यस बाहेक यहाँ सामाजिक उत्तरदायित्व पनि छ । हामीले वनलाई व्यापारीकरण हुनबाट जोगाई सर्वसाधारणलाई उपयोग गर्ने योजना अघि सारेका छौँै,” उहाँ भन्नुहुन्छ । वरपरका बस्तीबाट वनमा परेको प्रभाव र दबाबलाई न्यूनीकरण गर्न सबैको सहयोगको आवश्यकता रहेको अध्यक्ष शाहको भनाइ छ ।

रानीबारीमा अवस्थित रानीदेवी माताको मन्दिर ऐतिहासिक मन्दिर हो । तेह्रौँ शताब्दीमा स्थापना भएको मानिने सो मन्दिरमा अहिले पनि नेवार समुदायले कुलदेवताको पूजा गर्दै आएका छन् । सहरका बीचमा प्राकृतिक हरियाली भएकाले यस वनको छुट्टै महत्व रहेको वन तथा भूसंरक्षण मन्त्रालय, सामुदायिक वन महाशाखाका प्रमुख उपमहानिर्देशक अनुपराज शर्माको भनाइ छ । उहाँ भन्नुहुन्छ, “यस वनबाट प्राप्त हुने विविध लाभ वरपरका बासिन्दाका लागि मात्र नभई पूरै सहरका लागि अमूल्य छ ।”

विसं २०५९ मा सो क्षेत्रमा सडक विस्तारका क्रममा वनको करिब तीन रोपनी जग्गा बाटामा जोडिएको समितिले जनाएको छ । रानीबारी वनमा हाल ६७ प्रजातिका चरा भेटिएको सङ्घका अनुसन्धान अधिकृत हेमबहादुर कटुवालको भनाइ छ । वनमा पछिल्लो समयमा वानरको सङ्ख्या बढेको र तिनले दुःख दिने गरेको वरपरका बासिन्दाको गुनासो छ ।

सम्झौताको उद्देश्य वनको जैविक विविधता पहिचान गरी संरक्षण गर्ने र जैविक विविधता संरक्षण सिकाइ केन्द्र स्थापना गर्ने रहेको सङ्घका प्रमुख कार्यकारी अधिकृत डा नरेन्द्रमानबाबु प्रधान बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सिकाइ केन्द्रमा स्थानीय समुदाय, विद्यार्थी तथा आगन्तुकलाई सहरी क्षेत्रको विविधताबारे जनचेतना प्रवद्र्धन तथा स्थलगत पहिचान गराउने कार्यक्रम अघि बढाएका छौँ ।”

सङ्घले मासिक रुपमा चरा अवलोकन कार्यक्रम सञ्चालन गर्ने र वनलाई सहरी क्षेत्रको नमुना वनको रुपमा स्थापना गर्न प्रचारप्रसार गर्ने प्रमुख कार्यकारी अधिकृत प्रधानको भनाइ छ । सम्झौतानुसार स्थानीय र सो विषयमा रुचि राख्ने विद्यार्थीलाई राखेर छलफल गर्ने तथा शिक्षाको केन्द्र बनाउने तयारी छ । यहाँको जैविक विविधताको अध्ययन गरी प्रकाशनमा ल्याउने र त्यसपछि योजना अघि बढाइने सङ्घको तयारी रहेको उहाँ बताउनुहुन्छ ।

वनमा हाल बिहान, साँझ हिँडडुलका लागि सानो बाटो, शौचालय, र खाली स्थानमा बगैँचा निर्माण अन्तिम चरणमा छ । स्थानीयवासीले वनमा एक्लै हिँडडुल गर्ने सर्वसाधारणको सुरक्षा, नजिकै रहेको प्रहरी तालिम केन्द्रबाट बग्ने ढलको व्यवस्थापन र वनमा लुकेर लागुऔषध सेवन गर्नेलाई नियन्त्रण गर्ने सम्बन्धमा आवाज उठाएका छन् ।

लाखाँै जनसङ्ख्याको सहर बीचमा अवस्थित प्राकृतिक वनको संरक्षण र प्रवद्र्धनका लागि आफ्नो संस्थाले आवश्यक सहयोग गर्ने वर्डलाइफ इन्टरनेसनल एसियाका सञ्जाल साझेदार समन्वय संयोजक डा हुम गुरुङ बताउनुहुन्छ । “वनको प्राकृतिक सौन्दर्यले व्यस्त मानव जीवनशैलीको स्वास्थ्यमा सुधार मात्र नभई मानसिक तनाव समेत कम गर्न मद्दत गर्छ,” उहाँँ भन्नुहुन्छ ।

वन क्षेत्रको जैविक विविधताको संरक्षण गरी रानीबारीलाई नमुना जैविक उद्यानका रुपमा विकसित गर्नुपर्ने र वनमा बढ्दो मानव आवातजावतलाई व्यवस्थित गर्नुपर्ने उहाँको सुझाव छ । समितिले सो वनमा बिहान मात्र दैनिक करिब तीन सय व्यक्तिको आवतजावत हुने गरेको जनाएको छ ।

प्रतिक्रिया