निर्माणाधीन चिडियाखाना परिसरमा पदमार्ग

इनेप्लिज २०७२ चैत २४ गते ३:१३ मा प्रकाशित

पोखरा, २४ चैत । युनाइटेड क्लब, पोखराको सक्रियतामा लेखनाथ नगरपालिकाको पचभैयामा निर्माण गर्न लागिएको खुला चिडियाखाना परिसरमा तीन किलोमिटर लामो पदमार्ग निर्माण गर्न लागिएको छ ।

बृहत् पोखराको अवधारणाअनुसार पोखराको नयाँ पर्यटकीय आकर्षणका रुपमा लेखनाथको ११, १२ र १४ नम्बर वडामा रहेका पचभैया, चैनपुर र चाँपापानी चिसाकुना सामुदायिक वनलाई समेटेर बनाउन लागिएको चिडियाखानामा पर्यटकलाई अवलोकनका लागि पदमार्ग बनाउन लागिएको हो ।

क्लबका अध्यक्ष हिमालय बख्रेलका अनुसार निर्माणाधीन चिडियाखानाभित्र तीन किलोमिटरको मूल पदमार्गसहित अन्य शाखा मार्ग पनि निर्माण गरिनेछ । समग्र चिडियाखानाको निर्माणका लागि नक्साङ्कनसहित समग्र संरचनाको लागत अनुमानको तयारी अन्तिम चरणमा पुगेको उहाँले जानकारी गराउनुभयो ।

क्लबले विगत केही वर्षयता पोखरा महोत्सव गर्दै आएकोमा त्यसको कुल लाभांशमध्ये २० प्रतिशत रकम चिडियाखाना निर्माणका लागि छुट्याइएको उहाँले बताउनुभयो । खुला चिडियाखानाको अवधारणाअनुरुप संरचना निर्माण गरिने र चिडियाखाना परिसरमा वन्यजन्तुको उपचार केन्द्र स्थापना समेतको लक्ष्य राखिएको छ ।

प्रतिक्रिया