‘हलेसी भिलेज’ सञ्चालन

इनेप्लिज २०७२ फागुन २३ गते २:२४ मा प्रकाशित

खोटाङ, २३ फागुन । पर्यटक तथा दर्शनार्थीलाई लक्षित गरेर खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा सुविधायुक्त होटल सञ्चालनमा ल्याइएको छ ।

जिल्लाका चारजना व्यवसायीको सेयर लगानीमा सुविधायुक्त होटल ‘हलेसी भिलेज’ सञ्चालनमा ल्याइएको हो ।

उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष रुद्र गिरी, निवर्तमान अध्यक्ष खुसनारायण सैँजु, वर्तमान अध्यक्ष राजेन्द्र लयालु र व्यवसायी जयराम गिरीको संयुक्त लगानी रहेको करिब रु एक करोड ५० लाखको लगानीमा सञ्चालन गरिएको होटल भूकम्प प्रतिरोधात्मक रहेको लगानीकर्ता खुसनारायण सँैजुले बताउनुभयो ।

लिजमा लिइएको सात रोपनी जग्गामा रेस्टुराँ, सेमिनार हल, स्थानीय उत्पादनको बिक्री कक्ष, पार्किङ व्यवस्थासहितका १० वटा कटेजबाट होटलले सेवा सुरु गरेको छ । चौबीसकोठे होटलमा एकै पटक ५० भन्दा बढी ग्राहकले सेवा पाउने व्यवस्था मिलाइएको राजेन्द्र सैँजुले जानकारी दिनुभयो ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम सडकखण्डमा पर्ने हलेसी आउने पर्यटक एवम् दर्शनार्थीका लागि आवश्यक खाना र बासको उचित प्रबन्ध गर्नका लागि नयाँ होटल सञ्चालन गरेको अर्का लगानीकर्ता लयालुले बताउनुभयो । एट्याच रुमसहितको सुविधा सम्पन्न होटलमा १५० जना अट्ने छुट्टै मिटिङ हलको समेत व्यवस्था रहेको छ ।

दर्शनार्थी तथा भक्तजनको निकै चाप रहने हलेसीमा सुविधायुक्त होटलको अभावमा तत्काल फर्कने पर्यटक तथा दर्शनार्थीलाई केहीदिन हलेसीमै बस्ने वातावरण मिलाएर जिल्लाको पर्यटन प्रवद्र्धनका लागि व्यवस्थित होटल सञ्चालनमा ल्याइएको लयालुको भनाइ छ ।

हलेसी आउने दर्शकका लागि जिल्लाको चिनो लैजाने व्यवस्था मिलाउन होटलमा घङ्गरुको लठ्ठी, बाँस, माटो, काठ, खाँडीका कपडालगायतका स्थानीय थोकवस्तुको छुट्टै बिक्री कक्षसमेत राखिएको छ ।

होटलमा रामनवमी, महाशिवरात्री, बालाचतुर्दशी, तीज, बोलबम मेलालगायतका अवसरमा आउने ग्राहकका लागि सुविधा दिन थप २० वटा टेन्ट टाँग्ने व्यवस्था मिलाइएको छ । भर्खरै सञ्चालनमा आएको होटलमा १५ जनाले रोजगार पाएका छन् ।

हलेसीमा हाल साना तथा ठूला गरी १५० भन्दा बढी होटल सञ्चालनमा छन् । दैनिक हजारौँ पर्यटक तथा दर्शनार्थी आउने हलेसीका होटलले हाल बढीमा ५०० जना ग्राहकलाई बास र गासको सेवा दिन सक्ने क्षमता छ ।

प्रतिक्रिया