खोटाङ, २५ माघ । जिल्लामा थप नयाँ नगरपालिका बनाउने लक्ष्यका साथ पाँच गाविसको नाम अग्रसूचीमा राखिएको छ । स्थानीय विकास मन्त्रालयले जिविसलाई यसअघि नगरपालिका घोषणा गर्न छुट भएका गाविसको नाम सिफारिस गर्न परिपत्र गरेपछि पाँच गाविसको नाम अग्रसूचीमा राखिएको हो ।
मन्त्रालयद्वारा प्राप्त परिपत्रको विषयमा अध्ययन भइरहेको तथा चाँडै छलफलको आयोजना गरी आवश्यक पर्ने स्थानको नाम नगरपालिका घोषणाका लागि सिफारिस गरिने स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो ।
नयाँ नगरपालिकाका लागि चाँडै छलफल आयोजना गरी सुझाव सङ्कलन गरेर मन्त्रालयसमक्ष सिफारिस गरिने पाण्डेले बताउनुभयो । स्रोतका अनुसार जिल्लाका पाँच स्थानहरु हलेसी, बुइपा, ऐसेलुखर्क, बाक्सिला र खोटाङबजार गाविस नयाँ नगरपालिका घोषणाका लागि सिफारिस गर्न अग्रस्थानमा राखिएको छ ।
हलेसी र खोटाङबजार नगरपालिका घोषणाका लागि आवश्यक रहेको सरोकारवाला निकायको अनुमान छ । जथाभावी भौतिक पूर्वाधार तयार नगरी नगरपालिका घोषणा गर्दा समस्या हुने उनीहरुको अनुमान छ ।
खोटाङ जिल्लाको सदरमुकाम दिक्तेललाई यसअघि नगरपालिका घोषणा गरिएको थियो । घोषित नगरपालिकामा हालसम्म पनि विकासको गतिले तीव्रता पाउन सकेको छैन ।
चार गाविसहरु दिक्तेल, लफ्याङ, खाल्ले र बाम्राङ गाविसलाई समेटेर दिक्तेल नगरपालिका घोषणा गरिएको थियो । नगरपालिका घोषणा भएको यतिका वर्ष बितिसक्दा पनि नगरक्षेत्रमा सडक, खानेपानी, ढलनिकासलगायतका पूर्वाधार बन्न सकेका छैनन् ।
गाविसको न्यूनतम सर्त मापन भएन
गत पुस मसान्तभित्रै सम्पन्न गरिसक्नुपर्ने गाविसको न्यूनतम सर्त मापन एक महिना बितिसक्दा पनि यहाँका कुनै पनि गाविसले गराएका छैनन् ।
गाविसको न्यूनतम सर्तका सातवटा सूचक र मूल्याङ्कन मापनका तेह्रवटा सूचक बमोजिम गाविसले कस्तो काम गरेको छ भन्ने मूल्याङ्कन गर्नुपर्ने समय महिना दिन बितिसक्दा पनि यहाँका कुनै पनि गाविसले नगराएका हुन् ।
जिविसले नियुक्त गरेको मूल्याङ्कनकर्ताबाट गत वर्षहरुमा गाविसको कामकाजको मूल्याङ्कन हुने गरेको थियो र सोही मूल्याङ्कनका आधारमा गाविसमा थप अनुदान र कटौती गर्ने आधार तयार हुने गरेको छ । गाविस सचिवहरुले भने आफूहरुको केन्द्रीयस्तरको माग रहेको र सो माग पूरा नभएसम्म न्यूनतम सर्त मापन नगरिने बताउँदै आएका छन् ।
सचिवहरुको अवरोधका कारण अहिलेसम्म मापनको काम नभएको स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो ।
सचिवहरुलाई स्थानीय विकास मन्त्रालयमार्फत अध्यक्षको काम गरेबापत थप प्रोत्साहन भत्ताको व्यवस्था, सरुवा सहमति खुला गरिनुपर्ने, जीवन बिमा गर्नुपर्ने, प्रत्येक गाविस सचिवलाई सवारी साधनको सुविधा दिनुपर्नेलगायतका माग राखेका छन् ।
गाविस सचिवहरुले आफूहरुको माग पूरा नभएसम्म गाविसको न्यूनतम सर्त मापनको कार्य नगर्ने बताउँदै आएका छन् । दुई निर्वाचन क्षेत्र रहेको खोटाङमा ७२ गाविस र एक नगरपालिका रहेको छ ।
प्रतिक्रिया