काठमाडौँ, २९ असोज । खाद्य संस्थानले दसैँका लागि खसी बोकाको बिक्री वितरण सुरु गरेको छ ।
नवरात्रिको तेश्रो दिन आजदेखि थापाथलीमा रहेको गोदामबाट खसी बोकाको बिक्री सुरु गरेको हो । हेटौँडा, चितवनलगायतका क्षेत्रबाट ल्याइएको खसी बोका र मुस्ताङबाट ल्याएको च्याङ्ग्रा बिक्रीमा राखिएको संस्थानका नायब महाप्रबन्धक पवनकुमार कार्कीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “मुस्ताङबाट ल्याइएको ६९२ च्याङ्ग्रा र तराईका विभिन्न ठाउँबाट ल्याइएको ३८१ खसी बोका बिक्रीमा राखेका छौँ ।” च्याङ्ग्राको मूल्य ६३० प्रतिकिलो र खसी बोकाको ४२५ देखि ४३५ किलोसम्ममा बिक्री भइआएको छ ।
कार्कीले भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएकाले आवश्यक मात्रामा खसी बोका र च्याङ्ग्रा भित्र्याउन नसकेको बताउनुभयो ।
खाद्य संस्थानले यस वर्ष खाद्य बजार भने राखेको छैन तर खाद्य संस्थानको उपत्यकामा रहेका नख्खु, जावलाखेल, थापाथलीलगायतका क्षेत्रमा रहेका भण्डारबाट चामलमा प्रतिकिलो पाँच रुपैयाँ सहुलियत दिने व्यवस्था मिलाएको छ ।
यस्तै, टुकुचा खसी बजारमा पनि गत वर्षको तुलनामा खसी बोका कम मात्रै ल्याइएका छन् । नाकाबन्दीका कारण भारतबाट आउनु पर्ने खसी बोका नआएको टुकुचा खसीबजार इकाइ समितिका अध्यक्ष उत्तम खड्गी बताउनुहुन्छ ।
उहाँका अनुसार यहाँ धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा, गोरखालगायतका जिल्लाबाट ल्याइएका खसी बोका बिक्रीमा राखिएका छन् बताउनुभयो । यहाँ मूल्य प्रतिकिलो ४४० देखि ४६० सम्म रहेको छ ।
प्रतिक्रिया