चार विद्यालयमा स्कुल वन हरियाली कार्यक्रम

इनेप्लिज २०७२ असोज १३ गते ५:०१ मा प्रकाशित

ilam_nepal_mapइलाम, १३ असोज । वन दशक कार्यक्रमअन्तर्गत जिल्ला वन कार्यालय इलामले झापाका तीन र इलामका एक गरी चारवटा सामुदायिक विद्यालयमा ‘स्कुल वन हरियाली कार्यक्रम’ सञ्चालन गरेको छ ।

चुलाचुलीस्थित जनता उच्च मावि, सीमावर्ती बाहुनडाँगी–६ स्थित मेची जनसाधारण उमावि, बाहुनडाँगी–९ को पवित्र मावि र शान्तिनगर–५ स्थित गडीगाउँ उमाविमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

हरियाली वन कार्यक्रमअन्तर्गत विद्यालयमा वन तथा वातावरण संरक्षणसम्बन्धी कक्षा सञ्चालन, इको बाल क्लब, वृक्षरोपण गरिएको सहायक वन अधिकृत सुनिलकुमार सिंहले बताउनुभयो । यस कार्यक्रमबाट विद्यार्थीमा वनजङ्गल संरक्षणमा चेतना जागृत भई वन र वातावरणको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ ।

यस्तैगरी विद्यालयको स्वामित्वमा रहेका खाली जग्गालाई हरियाली बनाई विद्यार्थीमा वन तथा वातावरणको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम महत्वपूर्ण रहेको बताइएको छ । विद्यालयको प्रयासमा स्थानीयवासी, अभिभावक र वन पैदावार व्यवसायीले समेत हरियाली अभिवृद्धिमा साथ दिन थालेका छन् । विद्यालयसँग समन्वय गरेर इलामको पुवामझुवास्थित शारदा माध्यमिक विद्यालय वेतेनीमा रहेको करिब तीन सय रोपनी जग्गामा राष्ट्रिय वन पैदावार व्यवसायी सङ्घले यस वर्ष वृक्षरोपणसमेत गरेको छ ।

प्रतिक्रिया