अमेरिकामा टिपीएस(अस्थायी सुरक्षा सुविधा) बचाउन नेपालीहरूद्वारा ऐतिहासिक मुद्दा दायर

इनेप्लिज २०८२ असार २३ गते २३:०३ मा प्रकाशित

होन्डुरस, नेपाल र निकारागुवाका लागि अस्थायी सुरक्षा सुविधा (टिपीएस ) बचाउन नेसनल टीपीएस एलायन्स (एनटिपिएसए ) र ७ जना व्यक्तिहरूले अमेरिकाको नवौँ सर्किट अदालतमा मुद्दा दायर गरेका छन्। उनीहरुले आज जुलाई ७ ,२०२५ सोमबारका दिन मुद्धा दायर गरेका हुन् ।

नेपाली टिपीएस (अस्थायी सुरक्षा सुविधा)समुदायको तर्फबाट “युनाइटेड फर टीपीएस नेपाल” ले यस ऐतिहासिक कदमको स्वागत गरेको छ।

नेसनल टिपीएस एलायन्स र कानुनी टोलीप्रति आभार व्यक्त गर्द संगठनले पीडित नेपालीहरूको अधिकार र सम्मानको रक्षा गर्न तयार रहने प्रतिबद्धता जनाएको छ।

नेपालीहरूले विगत एक दशक भन्दा बढी समयदेखि अस्थायी सुरक्षा सुविधा (टीपीएस)मार्फत अमेरिका आफ्नो घर बनाउँदै आएका छन्। उनीहरूले कर तिरेका छन्, व्यवसाय सञ्चालन गरेका छन्, अमेरिकी समाजमा गहिरो योगदान पुर्‍याएका छन्, र अमेरिकी बच्चाहरूका अभिभावक समेत बनेका छन्।

तर अमेरिकी अमेरिकी गृह सुरक्षा बिभागले नेपालका लागि टिपीएस अन्त्य गर्ने निर्णय लिएकोले हजारौं नेपाली परिवारलाई विस्थापित हुने भएका छन् ।

नेपाली टीपीएसधारीहरूको अधिकार, सुरक्षा र सम्मान जोगाउनको लागि आजको मुद्दा हाम्रो सामूहिक संघर्षको पहिलो कदम हो ,युनाइटेड फर टीपीएस नेपाल” द्वारा जारी गरिएको छापा बिज्ञप्तिमा भनिएको छ ।

अभियोजकहरुका अनुसार देशको परिस्थिति बारेमा गहन अध्ययन नगरी टिपिएस नियमको अबहेलना गरिएको ,खारेजी गर्नु अगाडी कम्तिमा ६० दिन अगाडी सूचना दिनु पर्नेमा नदिएको ,खारेजीको नियमहरुलाई पालना नगरेको र पूर्वाग्रहको आधारमा खारेजी गरिएको जनाएका छन् ।

नेसनल टिपीएस एलाइन्स संस्था वादी को साथै ७ जना व्यक्तिगत पनि वादी रहेका छन् । ७ जना मध्ये २ जना नेपाली पनि रहेका छन् । नेपाली मध्येमा सन्ध्या लामाले खुला रुपमा आज दिउसो भएको जुमको छापा सम्मेलनमा बोलेकी थिइन् ।

युनाइटेड फर टिपिएस नेपालले पनि यस अभियानमा सहयोगीको भूमिका निर्वाह गरेको युनाइटेड फर टिपिएस नेपालका संस्थापक संयोजक अनिल शाहीले ईनेप्लिजलाई बताए ।

युटिपिएसएनले अन्त्यमा सबै नेपाली टीपीएसधारीहरूलाई सन्देश दिएको छ — “तपाईहरु एक्लो हुनुहुन्न। हामी तपाईहरुको पक्षमा छौं। संगठित बनौं, एक हौं, र अधिकारका लागि निरन्तर लडौं।”

प्रतिक्रिया