अमेरिकाको २५० औं स्वतन्त्रता दिवस : राष्ट्रपति ट्रम्पको सम्बोधन र अमेरिकाको जन्मोत्सवमा देशभक्तिको उल्लास

इनेप्लिज २०८२ असार २० गते ११:२७ मा प्रकाशित

आज जुलाई ४, २०२५ शुक्रबार अमेरिकाको स्वतन्त्रता दिवस। आजको दिनले २५० वर्ष अघि १७७६ मा १३ वटा उपनिवेशहरू बेलायतको शासनबाट स्वतन्त्र भएको घोषणा गरेको विशेष इतिहास बोकेको छ। यो दिन अमेरिकीहरूको लागि राष्ट्रिय पर्व हो । अमेरिकीहरुको स्वतन्त्रता, प्रजातन्त्र र मौलिक अधिकारहरूको लागि लडेका पुर्खाहरूलाई सम्झना गर्छ। अब अमेरिकामा नेपाली समुदायको जनसंख्या अर्थात् नागरिकता लिनेहरुको संख्या कम्तिमा पनि ३ लाख नाघी सकेको छ । अमेरिकामा अहिले ४ पुस्ते नेपालीहरु बसोबास गर्छन । ३ पुस्ते नेपालीहरुको संख्या अत्यधिक रहेको छ ।

अमेरिकामा दोश्रो पिढी अर्थात् दोश्रो पुस्ताको संख्या र प्राथमिक बिद्यालयमा अध्ययन देखि स्नाकोत्तर सम्म अध्ययन गर्नेको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ । उनीहरुलाई अझ अमेरिकी स्वतन्त्रता दिवसको महत्व बढी लाग्छ । अर्थात् उनीहरु नेपाली मूलका भएता पनि अमेरिकी भएर जन्मिएकोले यो दिवस ले उनीहरुलाई निकै आकर्षण गर्दछ । अमेरिकाका ५० वटै राज्यहरुमा लगभग नेपालीहरुको बसोबास छ । पहिलो पुस्ताले पनि रमाएर खुसी खुसी साथ अमेरिकी स्वतन्त्रता दिवस मनाइने गर्छन । आज दिन भरि जुलाई ४ मनाउने तयारीमा लागेका छन् ।

संक्षिप्त स्वतन्त्रता दिवसको इतिहास:

जुलाई ४, १७७६ मा महाद्वीपीय कांग्रेसले ‘स्वतन्त्रताको घोषणापत्र’ लाई अनुमोदन गरेको थियो। यस घोषणापत्रले मानिसका नैसर्गिक अधिकारहरू, सरकारको जनताप्रतिको जवाफदेहिता र उपनिवेशहरूलाई बेलायती शासनबाट अलग गर्ने कारणहरू स्पष्ट पारेको थियो।

यस घोषणापत्रका प्रमुख लेखक थोमस जेफरसन थिए। यो घोषणापत्रले अमेरिकी क्रान्तिको मार्ग प्रशस्त गर्‍यो र अन्ततः १७८३ मा बेलायतसँगको युद्ध समाप्त भएपछि संयुक्त राज्य अमेरिकाको जन्म भयो। प्रत्येक वर्ष, अमेरिकीहरूले देशभक्ति र एकताको भावनाका साथ यो दिन मनाउँछन्।

ह्वाइट हाउसमा विशेष उत्सव:

यस वर्ष अमेरिकाको २५० औं जन्मोत्सवको अवसरमा, ह्वाइट हाउसमा विशेष कार्यक्रमहरू आयोजना गरिएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका २५०’ नामक अभियानको सुरुवात गरेका छन् । जसले आगामी वर्ष अमेरिकाको २५० औं जन्मोत्सवलाई भव्य रूपमा मनाउने योजना बनाएको छ। आजको उत्सवमा हवाई प्रदर्शन जसमा बि- २ बम बर्षक लगायतका लडाकु विमानहरूले आकाशमा आफ्नो शक्ति प्रदर्शन गर्नेछन्। यी विमानहरू हालै इरानको आणविक सुविधामा सफल हमला गर्ने कार्यमा संलग्न थिए, जसका बिमानचालकहरूलाई ह्वाइट हाउसमा सम्मान गरिनेछ।

राष्ट्रपति ट्रम्पको सम्बोधन:

आज ह्वाइट हाउसको चौरमा हजारौंको संख्यामा भेला भएका दर्शकहरूलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्ने छन् । उनले स्वतन्त्रता दिवसको महत्व, अमेरिकी मूल्यमान्यता र राष्ट्रको भविष्यको बारेमा कुरा गर्ने छन् ।

आजको समारोहमा राष्ट्रपतिले देशभक्ति, राष्ट्रिय एकता र अमेरिकी सेनाको अतुलनीय योगदानको चर्चा गर्ने अपेक्षा गरिएको छ। ह्वाइट हाउसमा आयोजित यस उत्सवमा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू, आतिशबाजी र परेडहरू पनि समावेश हुनेछन्, जसले अमेरिकी जनतालाई स्वतन्त्रताको गौरवमय इतिहास र उज्ज्वल भविष्यको संकल्पलाई स्मरण गराउनेछ।

यो दिन केवल एक छुट्टी मात्र होइन, तर अमेरिकी पहिचान, मूल्यमान्यता र संसारलाई प्रेरणा दिने एउटा राष्ट्रको कथाको उत्सव हो।

प्रतिक्रिया