एक महिनाअघि मिजौरी राज्यको सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी नियमहरूमा लगाएको रोक हटाएपछि बिहीबार मिजौरीका एक न्यायाधीशले फेरि धेरै गर्भपतन प्रतिबन्धहरूमा रोक लगाएका छन्।
ज्याक्सन काउन्टी जिल्ला अदालत न्यायाधीश जेरी झाङको आदेश अनुसार गर्भपतनसम्बन्धी यी प्रतिबन्धहरूले गत वर्ष मतदाताहरूले पारित गरेको राज्यको संवैधानिक गर्भपतनको अधिकारको सम्भावना उल्लंघन गर्दछ।
प्लान्ड प्यारेन्टहुड नामक सँस्थाले यो आदेशले मिजौरीमा फेरि प्रक्रियागत गर्भपतन सेवाहरू प्रदान गर्न बाटो खुल्ला गरेको बताएको छ। तर, मिजौरीका महान्यायाधिवक्ता एन्ड्रयू बेलीले आफ्नो कार्यालयले यो फैसलाको विरुद्धमा तुरुन्त अपील गर्ने भनेका छन्।
अदालतको यो आदेशले धेरै वर्षदेखि चलिरहेको लडाईमा नयाँ मोड ल्याएको छ जहाँ मिजौरीमा गर्भपतनमाथि प्रतिबन्ध र अनुमतिबीचको अवस्था फेरबदल भइरहेको छ।
सन् २०२२ मा अमेरिकी सर्वोच्च अदालतले फैसला उल्ट्याएर देशभरि गर्भपतनको अधिकार समाप्त गरेपछि मिजौरीमा “चिकित्सीय आपत्कालिन अवस्था बाहेक” गर्भपतनमा प्रतिबन्ध लगाउने कानून लागू भएको थियो। तर, गर्भपतन अधिकारवादी कार्यकर्ताहरूले त्यो कानूनलाई उल्ट्याउन हस्ताक्षर अभियान चलाए।
गत नोभेम्बरमा, मतदाताहरूले गर्भावस्थाको २१ हप्तापछि भ्रूणको जीवन सम्भाव्यतासम्म गर्भपतनको अधिकारको प्रत्याभूति (ग्यारेन्टी )गर्ने संवैधानिक संशोधनलाई थोरै बहुमतले पारित गरे। यसले मिजौरीलाई एक मात्र यस्तो राज्य बनायो जहाँ मतदाताहरूले मतदान मार्फत गर्भावस्थाको सबै चरणमा गर्भपतनमाथिको प्रतिबन्धलाई उल्ट्याएका छन्।
राज्यको सर्वोच्च अदालतले मे महिनामा झाङले फेब्रुअरी र डिसेम्बरमा मिसौरीको गर्भपतन प्रतिबन्धहरूमा रोक लगाउँदा गलत मापदण्ड प्रयोग गरेको फैसला गरेको थियो।
पुनर्विचार पछि, न्यायाधीश झाङले फेरि गर्भपतनमाथिको प्रतिबन्धमा प्रारम्भिक रोक आदेश जारी गरे। महान्यायाधिवक्ताको कार्यालयले कानुनी लडाई जारी राख्ने बताएको छ। बिहीबारको आदेशले औषधीद्वारा गरिने गर्भपतनको विषयमा कुनै कुरा गरेको छैन ।
यो अदालती लडाई मिजौरीमा चलिरहेको गर्भपतन बहसको एउटा मात्र भाग हो।
प्रतिक्रिया