अमेरिकाको आइडाहोमा चारजना बिधार्थीको हत्या गरेका ब्रायन कोहबर्गरले आजीवन कैद सजाय पाउने बिषयमा सहमति जनाएका छन् ।
अर्थात् कोहबर्गरले आइडाहोमा चार जना विश्वविद्यालयका विद्यार्थीहरुको हत्या प्रकरणमा सबै आरोपमा दोष स्वीकार गरेका छन्। उनी हत्या र चोरीको आरोपमा अदालतमा दोषी ठहरिनेछन्। सहमति अनुसार कोहबर्गरले चारवटा हत्या सम्बन्धी आरोपमा लगातार आजीवन कारागार सजाय र चोरीको आरोपमा १० वर्ष कैद सजाय पाउनेछन्। उनले सबै अपिल गर्ने अधिकार पनि त्याग्ने छन्।
यो सहमति आगामी बुधबार हुने दोष स्वीकार गर्ने सुनुवाइको क्रममा पेश गरिनेछ। कोहबर्गरको मुद्दा अगस्तमा शुरू हुने तय भएको थियो। उनलाई मृत्यु दण्ड समेत दिने सम्भावना रहेको थियो तर उनले सम्झौता गरे पछि मृत्यु दण्ड टरेर गएको छ ।
सो हत्याकाण्डमा आइडाहो विश्वविद्यालयका विद्यार्थीहरु क्रमस केली गोनसाल्भेस, मेडिसन मोगेन, जना कर्नोडल र उनका प्रेमी ईथान च्यापिनको २०२२ नोभेम्बर १३ मा हत्या गरिएको थियो। हत्याकाण्डले आइडाहोको सानो महाबिद्यालय शहरलाई हल्लाएको थियो।
दुई जना कोठाका साथीहरु भने ज्यान बचाएर भागेका थिए र एकजनाले राति घरभित्र एक पुरुष हिडिरहेको देखेको बताएका थिए ।
कोहबर्गरलाई पीडितको शरीर नजिक फेला परेको चक्कूमा उनको डिएनए भेटिएको थियो।
अभियोजनकर्ताहरूले यो सहमति परिवारहरूको विचारलाई ध्यानमा राखेर तयार गरेको बताएका छन् । यसले लामो समयसम्म चल्ने अपिल र अनिश्चितता टार्नेछ। आइडाहो विश्वविद्यालयले पीडितहरूको परिवारप्रति संवेदना जनाएको छ।
प्रतिक्रिया