“मिठो अनुभूती”

इनेप्लिज २०८२ असार ८ गते २२:०६ मा प्रकाशित

लक्ष्मी श्रेष्ठ ।यो मौसमको पनि केही भर छैन। कहिले ९० डिग्री फरेन हाईट्समा पुग्छ त कहिले झरेर ५० डिग्री पुग्छ। त्यसैले त मौसमलाई दिन-दिनै अनि छिन -छिन नै बदलिरहने मान्छेको मनसंग तुलना गर्न मन लाग्छ मलाई।

हिंजो त्यति राम्रो उज्यालो भएको दिन आज फेरी अधेरो अनुहार लगाएर बसेको छ।बिहान त झन् झम् झम् नै पानी परेको थियो।रुघा खोकीले जकडेकोले आज पनि म तातो पानी, कफीको चुस्की लिंदै मेरो ओछ्यानमा सिरानीको अडेस लगाएर उही मेरो झ्यालबाट देखिने दृष्यहरु एकटकले नियालीरहेछु। मेरो दाहिने पट्टीको झ्यालको साईडमा आज एउटा बडेमानको सेतो भ्यान पार्क गरेर राखेकोछ। सुन्दर हरिया रुखका हाँगाहरु हावाको तालसंगै मग्न भएर नाचिरहेछन्।

यस्तो लाग्छ भविष्यमा शिशिरले उसलाई निर्बस्त्र पार्ने पीरलाई भूलेर वर्तमानमा रमाईरहेछ खुसीले बाँचीरहेछ। मेरै झ्यालको छेउको पेटीबाट मान्छेहरु बिभिन्न भाषामा बिभिन्न कुरा गर्दै ओहोर दोहोर गरिरहेछन्। जसमा बेला बेला नेपाली भाषा पनि सुनिन्छ। मलाई यो दृष्य र चहलपहल साह्रै नै रमाईलो लाग्छ।
आखिर हामी बाँच्नुपर्ने त वर्तमानमा नै हो नि! तर हामी मान्छेको जात किन संधै भोलि या भविष्यको लागि बाँच्छौं ? जो अदृश्य छ अनि जस्को कुनै ठेगान नै छैन। यही प्रश्नले बेला बेला मेरो मन कोट्याईरहन्छ।

म चाहीं सकेसम्म आज मै बाँच्न चाहान्छु अनि आजै रमाउन चाहान्छु। यस्तो लाग्छ भोलिको लागि के थाहा मसंग समय होला या नहोला। दुई चार महिना अगाडि घुँडा दुखेर औषधि खानु पर्यो अझै राम्रोसंग निको भएको छैन। पारिबारीक जमघटमा संधै नाचगान गरेर सबैलाई नाच्न- गाउन जागरुक गराउने मान्छे म आज आफैंलाई नाच्न गाह्रो भैसकेको अबस्था छ।

म नेपाल बंगलादेशमा काम गरेपछि सन. १९९७ मा मैले पहिलो पटक पाएको बोनस रु. १०,०००.०० डाउन पेमेन्ट राखेर बैंकबाट पहिलो पटक अटोलोन पास गराई १५% महंगो ब्याजदरमा रु. ७१,५०० तिरेर ब्राण्ड न्यु १०० सि सी को काईनेटिक होण्डा किनेकी थिएँ। त्यही मोटरसाईकल सिक्ने शिलशिलामा र लाईसेन्स लिईसकेपछि कहिले मान्छेलाई ठोक्नबाट बचाउन त कहिले हाँसको लस्कर, कुकुर, मान्छे र बच्चाहरुलाई बचाउन, जोगाउन धेरै पटक आफैं सडकमा पच्छारिन पुग्दा टाउको बाहेक शरिरका कुनै पनि अँगहरु चोटपटकबाट अछुत रहेका छैनन्। सायद त्यसैको तुष पनि हुन सक्छ यत्ति छिट्टै घुँडा दुःख्नुको कारण।

जब म लड्थें, चोटपटक लाग्थ्यो, मेरी आमा दुःखी भएर भन्नुहुन्थ्यो “ कान्छु सानो छँदा तँ लड्ला कि घाउ लाग्ला कि भनेर सम्भालेर तँलाई हुर्काएँ अहिले ठुलो भएर मोटरसाईकल किनिस् बेला बेला लडेर आफैंले आफैंलाई दुखाउँदैछस् चोट पटक दिंदैछस् खै के भनुँ म। तँ घर नआईपुगनन्जेल न मलाई खाना बनाउन भान्छामा जान मन लाग्छ न केही गर्ने जाँगर नै चल्छ”! आमा तिम्रो यो कुरा सम्झेर यत्तिखेर पनि मेरा आँखा ओभानो हुन पाएनन्।छेउको बक्समा टिस्यु पनि सकिएछ आफ्नै पजामाको फेरले चट्ट आँशु पुछें।

सन् १९९८ मा अफिसबाट घर फर्कंदै गर्दा चाबहिल चोकमा रिंगरोडको बिपरीत दिशाबाट आउँदै गरेको हरियो भ्यानले मेरो मोटरसाईकलको पछाडिको भागमा हानेर कैंयौं बल्ड्याँग खाएर त्यस्तो ब्यस्त सडकमा पच्छारिंदा पनि भगवानको असिम कृपा, तिमी,बाबा, दिदी र सबै आदरणिय प्रियजनहरुको आशिर्बादले टाउकोबाट हेल्मेट नफुस्केको कारण १ महिना ओर्किन फर्किन नसकेर ओछ्यानमानै आराम गर्नुपरेपनि त्यों भयानक दुर्घटनाबाट बचेंर आज यहाँसम्म आईपुगेकीछु। आखिर मान्छेको जीवन एउटा आफैंसंगको (च्यालेन्ज) प्रतिस्पर्र्धा त रहेछनि! त्यसैले त मान्छे हरेक पाईला हरेक दिन आफैंसंग जुधिरहनुपर्छ कुनै न कुनै मोढमा।

समुन्द्रमा मिसिएर आफ्नो अस्तित्व मेटीने भयले म पोखरी बनेर बाँच्न पटक्कै चाहान्न। म त मेरी सखी नदियाको “ माछी” कवितामा झैं नदि भएर बाटामा आईलागेका बाँधहरुलाई भत्काउँदै निरन्तर सलल बग्दै समुन्द्रसंग समाहित हुन चाहान्छु।

आज त आईतबार कहीं जाने चटारो छैन। हिंजो जुन २१ तारीख भाई राजन को पहिलो कृति “ Ode To Yala” अंग्रेज़ी कविता संग्रह न्युयोर्कको सन्नीसाईड स्थित फूडमाण्डु रेष्टुरेण्टमा पारिबारीक माहौलमा बिभिन्न साहित्यकार ज्युहरु एबं साहित्य अनुरागीज्युहरुको विच सफलताका साथ सु-सम्पन्न भयो। निराला पब्लिकेशनको ब्यानरमा सम्पन्न भएको लोकार्पण कार्यक्रममा बरिष्ठ अँग्रेजी कवि एबं साहित्यकार श्री युयुत्सु शर्माले कृतिको समिक्षा गर्नुभएको थियो। उहाँले कृति उत्कृष्ट हुनुको साथै अन्तराष्ट्रीय साहित्यको स्तरमा प्रतिस्पर्धा गर्न सक्ने भएको कुरा बताउनु भएको थियो।

भाई राजन बहु-प्रतिभाशाली कवि हुन्। उनी नेवाःभाषामा कविता लेख्छन्। नेपाली भाषामा गजल लेख्छन् भने नेपालीहरुको लागि साह्रै गाह्रो लाग्ने विषय अँग्रेजी भाषामा नेपाली र नेवा: भावनाको संयोजन गर्दै कविता कृती प्रकाशन गरी नेपाली साहित्यमा लामो फड्को मारेकाछन् भन्दा अतिशयोक्ति नहोला। भाई राजनको मेहनत, लगाव र निरन्तर प्रयासले उनको साहित्य यात्रामा नयाँ रगं ल्याएकोछ। र यसरी नै भाईको साहित्यिक यात्रा निरन्तर अघि बढीरहोस्, यो दिदी लगायत नेपाली साहित्य समाज न्युयोर्क च्याप्टर परिवारको तर्फबाट धेरै धेरै बधाई, कृति सफलताको शुभकामना एबं उत्तरोत्तर प्रगतिको कामना गर्दछ।

धेरै बर्ष अघि देखि भाई राजनलाई कृति निकाल्न उस्काउँदै थिएँ। राजन हरेक पटक भन्थ्यो “ हुन्छ दिदी म कोशिष गर्दैछु।” भाई राजन, बहिनी अस्मितासंग हाम्रो पारिवारिक सम्बन्ध भाई राम र बहिनी लक्ष्मीको माध्यमबाट जोडिएको धेरै बर्ष भएकोछ। यसैविचमा उनीहरुको पहिलो सन्तान अर्लानी जन्मेपछि टेलिफोन बार्तालापको दौरानमा एकदिन बहिनी अस्मिताले भनिन् “ दिदी राजनको दिदी-बहिनी नभएकोले तपाईं अर्लानीको “ निनी” यानि फुपु। अस्मिताको यो बाक्य,आत्मियता र सद्भावले म भाव बिभोर हुनुको साथै आँखा रसाएका थिए।

हिंजो भाई राजनको कृती लोकार्पण हुँदा मेरै कृती लोकार्पण भएको जस्तो अनुभूती भयो। कार्यक्रम स्थलमा भाई राजनको परिवार र युयुत्सु सर भन्दा पछि सबभन्दा पहिला उपस्थित नै म र मेरो श्रीमानको थियो। मेरी प्रिय सखी नदिया पनि काम सकेर हस्याँग र फस्याँग गर्दै आईपुग्दा मेरो मन त्यसै फुरुंग परेको थियो। हाम्री अर्की प्रिय सखी शकुन को बिशेष कारणले उपस्थित हुन नसक्दा हामीलाई उनको उपस्थिति भने साह्रै खट्कियो।

उसो त यसपाली गएको एप्रिल २० तारीख मेरो पाँचौं कृति कविता संग्रह “ सगरमाथाको आर्तनाद” पनि अन्तराष्ट्रिय न्युयोर्क च्याप्टरको ब्यानरमा भान्छाघरको सभाहलमा साहित्यकारज्युहरु र साहित्य अनुरागी ज्युहरुको बाक्लो उपस्थितीमा सम्पन्न भयो।

यसको अलावा नाम चलेका बिभिन्न संगितकार, गायक- गायिकाहरुबाट संगितबद्ध भएका र स्वरले सजिएका ट्युबमा प्रसारण भैसकेका ६ वटा गितहरु पनि छन्।यसरी हिसाब गर्ने हो भने मेरो लागि पनि यो बर्ष मेरो लेखन यात्रा उपलब्धिपूर्ण नै रहेको मान्नुपर्छ। अझै सकेसम्म नेपाली साहित्य र संगित क्षेत्रमा दुई चार वटा ईंटा थप्दै बाँचुन्जेल नेपाली साहित्यको सेवा गर्ने चाहाना छ।

प्रिय सखी नदिया र शकुन भन्ने गर्छन् मेरो कृति निस्कंदा उनीहरुलाई आफ्नै कृती निस्केको जस्तो अनुभूती हुन्छ रे। यो मलाई उनीहरुको अनुहारमा झल्किने खुसी र फुर्फुराहटबाट प्रष्ट हुन्छ।

भाई राजन भन्छ “हैन दिदी तपाईं कसरी समयको ब्यबस्थापन मिलाउनु हुन्छ? काममा पनि जानु पर्यो, घरबार,परिवार र सामाजिक जीवन पनि राम्ररी ब्यालेन्स गरिरहनुभएको छ। मलाई त गज्जब लाग्छ बा। Didi you are my inspiration. You always inspired me. आठ बर्षको दौरानमा ५ वटा छुट्टै बिधाका कृतिहरु अनि ६ वटा गितहरु प्रकाशन गर्नु भनेको चानचुने कुरा हैन दिदी। You should be proud of yourself” भनेर भाई मलाई हौसला दिईरहन्छ।

हो, हिंजो उही भाई राजनको कृति लोकार्पणको लागि म बिहानै देखि फुर्फुर परेकी थिएँ रुघा खोकीले तर्साए पनि। मेरो सपना नै साकार भएको महशुस गरिरहेथें।

यो हामी मान्छेहरु विचको हिसाब-किताब, जोड-घटाउ र नाप-तौल बिनाको निःस्वार्थ सम्बन्धले मेरो जीवनको खुसीमा ठुलो भूमिका खेलेकोछ।

यसै क्रममा हिंजो भाई राजनको कृति लोकार्पणपछि पूर्ब योजना बिना नै ज्याक्सन हाईट्समा हिंजो लागेको मेलामा विश्व दाई, भवानी दिज्जु, भिनाजु संग भेटघाट भयो। राजेन्द्र दाई पनि कृति लोकार्पण कार्यक्रम सकेर त्यहीं आउनु भयो। छोरा अनुज पनि उसको ड्राईभिंग क्लास सकेर भोकले चुर हुँदै मेलामा आईपुग्यो। त्यहाँ भाई अन्जन, बुहारी लगायत अरु चिने जानेका धेरै प्रियजनहरुसंग पनि भेटघाट भयो। चट्पटे, मोमो, चिकेन बिरयानी र अरु खानाहरुको पनि स्वाद लिएर नदिया, बिश्वदाई, दिदी, भिनाजु, राजेन्द्र दाई हामी सबैजना हाम्रो बासस्थान आएर रमाईलो गर्दै राती साँढे एघार बजे हाम्रो हिंजोको दिनको बिट मार्यौं।

मैले भने नि यो मौसमको केही भर छैन। बिहानको अँधेरो दिन पछि फेरी झलमल्ल घाम संगै उज्यालिसकेको छ। खुलेको निलो आकाश पनि तल धर्तिलाई हेर्दै मसक्क मस्किरहेझैं भान हुन्छ।

मिठो बतास सुशेली हाल्दै रुखका हाँगाहरुसंग कानेखुसी गर्दै प्रेमिल भलाकुसारी गरिरहेझैं लाग्छ। म झ्यालमा गएर टक्क उभिन्छु ।बतासको मिठो स्पर्शलाई चुम्दै, घरभित्रैबाट सुन्दर मौसमको मजा लुट्दै, पेटीमा ओहोर-दोहर गर्ने बटुवाहरुको अनुहार पढ्दै धेरैबेर उभिरहन्छु।

धन्यबाद!

लक्ष्मी श्रेष्ठ
सुन्दरीजल, काठमाडौं
हालः न्युयोर्क, यु. एस. ए.

प्रतिक्रिया