गैर आवासीय नेपालीहरु माथि अन्याय, अत्याचार र विभेद गर्न पाईदैन

इनेप्लिज २०८२ असार ८ गते १:३६ मा प्रकाशित

खगेन्द्र अधिकारी / वासिंटन, डि.सी. उत्तर अमेरिका।

“एक पटकको नेपाली सधैंको लागि नेपाली” भन्ने बुझाई हाम्रो सर्व सम्मत र साझा प्रतिज्ञाको बिषय हो। रंगत र वंशको आधारमा प्राप्त हुने नागरिकताको अधिकार कसैले खोस्न सक्ने सुविधा हुँदैन।

बर्तमान नेपाल सरकारको साझेदारी हैसियतमा रहेको राजनीतिक दलको सभापति बाट सार्वजनिक रुपमा हालै व्यक्त भएको गैर आवासीय नेपालीलाई नेपाली नागरिकताको निरन्तरता नदिने अलोकतांत्रिक नीति र भाषणबाज़ी हाम्रो लागि अन्यायपूर्ण भएको र षड्यंत्रकारी छ भन्ने हाम्रो साझा बुझाई छ।

नेपाली नागरिकता निरन्तर गरिने समबन्धमा बाँ, दाई, भाउजु, देवर आदि इत्यादिको हालको कमजोर र गरीब संयुक्त छुपेरुस्तम सोच हामी सम्पूर्ण गैर आवासीय नेपालीहरुको लागि घोर निन्दनीय र आपत्तिजनक पनि छ।

नेपाल सरकार आफैंले इतिहास देखिनै नेपाली नागरिकलाई विदेशी मुलुकमा श्रमिक आदिको रुपमा पठाउँने तर वंशजको आधारमा प्राप्त भएको नागरिकतालाई निरन्तरता दिन नमिल्ने भन्ने घटिया र संकीर्ण सोच न्यायसंगत हुनै सक्दैन।

लोकतांत्रिक साहस र प्रजातांत्रिक प्रणाली अनुसार बंसजको नागरिकतालाई खोस्ने अधिकार कुनै पनि सुजवुझ भएको सरकारलाई हुँदै हुँदैन भन्ने हाम्रो सर्वमान्य र सर्वसम्मत ठहर छ।

कमजोर सोचका षड्यंत्रकारी नेपाली राजनीतिक दलहरुलाई नागरिकताको महत्व र यस विषयमा सरासर अज्ञानता रहेकोले विदेशी भूमिमा बाध्यताका कारण गएका नेपालीहरुको नेपाली नागरिकताको निरन्तरता र यसको बहसमा अन्तर्राष्ट्रिय लोकप्रिय प्रजातंत्र र लोकतांत्रिक अभ्यासहरु बाट धेरै कुराहरु सिक्ने र अवलंबन गर्नु पर्ने हुन्छ।

कानूनको प्राकृतिक न्यायको सिद्धांत अनुसार जैविक नाताका प्राकृतिक आधारशिला बाट प्राप्त वंशजको नागरिकता अकाट्य रुपमा, स्वतःसिद्ध र जन्म सिद्ध अधिकार भएको कारण यस प्राकृतिक र मानवीय अधिकारलाई कुनै पनि पछिल्ला संसोधित कानूनहरुले खोस्न र ध्वस्त गर्न नसक्ने हुन्छ। वंशजको अधिकार स्वयं व्यक्तिले आँफ्नै स्वेच्छाले नै त्याग नगरेसम्म मरणोपरांत पनि रहिरहन्छ भन्ने विश्वव्यापी र मानवीय कानूनी मान्यता हो।

नेपाल सरकारले विनासर्त नै लामो विगत देखि हाल सम्म पनि बिदेशमा बसोबास गर्ने नेपालीहरुको रेमिट्यान्स बाट नै नेपालको दिगो अर्थतन्त्रमा मौद्रिक टेवा पुगेको र वर्तमान अर्थतंत्रमा व्यापक सुधार आएको निरंतर बिषयहरुमा सहज रुपमा स्मरण गर्न धेरै नै जरुरी छ।आफ्नो मातृभूमिलाई अहोरात्र खटेर र मरेर योगदान दिने मेहनती र परिश्रमी नेपाली नागरिकहरूलाई स्वयंसिद्ध प्राकृतिक अधिकारबाट षड्यंत्र गरेर वञ्चित गर्नु विश्वव्यापी लोकतान्त्रिक मूल्य र विधिको बिपरित र नियमित विश्व प्रसिद्ध लोकप्रिय प्रजातांत्रिक मान्यताको सोच बिपरित हुन्छ।

नेपालको वर्तमान संविधानमा कोही पनि व्यक्ति (नागरिक) प्राप्त नागरिकता र स्वतंत्रता पूर्वक स्वतः प्राप्त हुँने नागरिकता बाट वञ्चित हुनु पर्दैन भन्ने स्पष्ट रुपमा र अक्षरशः उल्लेख गरिएको छ। यस कारण सम्पूर्ण नेपाली राजनीतिक दलहरु र नेपाल सरकारलाई राज्यको विद्यमान संविधानको मर्यादा बाट अघि बढ्नको लागि सुझाव सहित आग्रह गर्दछौं।

विश्वसामु नेपालले स्वीकार गरेको हालको लोकतान्त्रिक पद्धति सबै देश तथा विदेशमा रहेका नेपालीहरुले सामूहिक रुपमा संघर्षशील लड़ाई लडेर ल्याएकोले यस बाट प्राप्त हुँने सबै मानवीय हकअधिकारहरु पनि सबै नेपालीहरुलाई बराबरी अधिकार सहित उपयोग गर्ने संयुक्त अधिकार हुन्छ भन्नेमा दुईमत हुँदै र यसलाई सबैले सहज रुपमा बुझ्न जरुरी छ। यस कारण कुनै पनि गैर आवासीय नेपाली नागरिकमाथि अन्याय अत्याचार र विभेद गर्न पाइँदैन भनेर सार्वजनिक रुपमा र स्पष्ट रुपमा हाम्रा भनाईहरुलाई संप्रेषित गर्दछौं।

लेखक खगेन्द्र अधिकारी उत्तर अमेरिकामा स्थापित, ईमानदार, स्वतंत्र एवं मर्मस्पर्शी सामाजिक सेवाका विभिन्न क्षेत्रहरुमा आबद्ध एक सक्षम व्यक्तित्व हुनुका अतिरिक्त उत्तर अमेरिकी नेपालीहरुको प्रमुख र प्रथम स्वयंसेवकिय राष्ट्रिय सामाजिक संस्था एसोसिएशन अफ नेपालीज ईन द अमेरिकाज (एएनए) को दोश्रो कार्यकालका लागि अध्यक्ष समेत हुनुहुन्छ।

प्रतिक्रिया