काठमाडौँ, ७ असार । खगराज बरालद्वारा लिखित तथा साङ्ग्रिला मिडिया ग्रुपद्वारा प्रकाशित उपन्यास “प्रतिरूप” को परिचर्चा कार्यक्रम एम्बिसन गुरु कलेज, पुतलीसडक, काठमाडौँमा सम्पन्न भयो । परिचर्चा कार्यक्रममा साहित्यप्रेमी, विशेषगरी उपन्यास तथा आख्यानप्रेमी, महानुभावहरूको विशेष उपस्थिति थियो । नेपालको संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नियोगमा समेत कार्य सम्पादन गर्नुभएका पूर्वराजदूत प्रा. डा. जयराज आचार्य यस कार्यक्रमका प्रमुख वक्ता हुनुहुन्थ्यो । पुस्तक परिचर्चामा आफ्नो भनाइ राख्दै प्रा.डा. आचार्यले साहित्यिक विषयको परिचर्चा गर्दा सानो समूहमा नै गर्नुपर्ने, ठुलो समुदायको उपस्थितिमा सभा गृह जस्ता ठुला हलहरुमा हल्लाखल्ला गर्ने विषय साहित्य नभएको र साहित्य भनेको साह्रै गम्भीर विषय भएकाले सानो समूहमा यसको सूक्ष्म विश्लेषणसहितको परिचर्चा हुनुपर्ने उल्लेख गर्नुभयो । विश्वलाई रसियन साहित्य, बौद्ध दर्शन, पोलिनेसियन नृत्य र इस्लामिक आर्किटेकको देन नभएको भए विश्व धेरै विधा र विषयमा शून्य हुन्थ्यो भन्ने विचार राख्दै प्राध्यापक आचार्यले भन्नुभयो, “साहित्यमा उपन्यास पनि त्यत्तिक महत्त्वपूर्ण विधा हो ।”
“आफ्नो कृतिको व्याख्या कृतिकारले नै गर्नु राम्रो र फलदायी हुने” साहित्यकार इन्द्रबहादुर राईको भनाइलाई उद्धृत गर्दै प्राध्यापक आचार्यले भन्नुभयो, “प्रतिरूप उपन्यासका सम्बन्धमा उचित व्याख्या उपन्यासकार बरालले नै गर्नुपर्छ । म कृतिकार बरालको यस कृतिका बारेमा धेरै कुरा सुन्न चाहन्छु ।”
कृतिकार बरालले “प्रतिरूप” उपन्यास लेखनको कथाको सुरुवात वि.सं. २०६९ मा एसएलसीपरीक्षाको प्रश्नपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षित मुद्रणालयका जाँदा त्यहाँ काम गर्ने मुमबहादुर मगरले भारतको मेघालयको कोइलाखानीमा काम गर्दाको अनुभव सुनाएपछि आफूलाई कोइलाखानीमा काम गर्ने मजदूरका विषयमा लेख्न प्रेरित गरेको बताउनुभयो । मूल कथा कोइलाखानीका मजदूरको लिए पनि उसको नेपालस्थित परिवारका साथै तत्कालीन समयको नेपाली समुदायको आर्थिक, शैक्षिक तथा सामाजिक अवस्थालाई उपन्यासमा चित्र गरेको कृतिकार बरालले बताउनुभयो । उपन्यास लेखनमा गुलाब चौधरी, नारायणप्रसाद सुवेदी, मुमबहादुर मगर, बरखुप्रसाद रजक, श्रीेनेवास पाल, भेषराज बराल, बेदविक्रम हमाल, पाराश्वर ढुङ्गाना जस्ता व्यक्तित्वबाट विषयगत स्पष्टताका लागि सहयोग पाएको कुरा पनि बरालले उल्लेख गर्नुभयो ।
उपन्यास नारी प्रधान भए पनि पुरुषहरुको कष्टपूर्ण जीवन पनि उत्तिकै सान्दर्भिक भएर आएको छ । परिचर्चा कार्यक्रममा चिरञ्जीवी बराल, केशवप्रसाद दाहाल, दिपक बराम, शान्ति पौडेल, दिवाकर गौतम, पवनकुमार न्यौपाने लगायतका सहभागीहरूले उपन्याससँग सान्दर्भिक रहेर जिज्ञासा राख्नुभएको थियो ।
परिचर्चा कार्यक्रममा सहभागीहरूबाट उठाइएका जिज्ञासाहरूको जवाफ लेखक बरालले दिनुभएको थियो । उपन्यासका लेखकसँग प्रत्यक्ष कुराकानी गर्न पाएकामा सहभागीहरूले खुसी प्रकट गरेका थिए । कार्यक्रमको सञ्चालन पवनकुमार न्यौपानेले गरेका थिए ।
प्रतिक्रिया