तमु धीं भर्जिनियाले आफ्नो छैटौं बार्षिक साधारण सभा नयॉं कार्य समिति चयन गर्दै धुमधामले सम्पन्न

इनेप्लिज २०८२ असार ४ गते २२:०६ मा प्रकाशित

अमेरिकाको राजधानी वासिङ्टन डिसी मेट्रो एरियामा बस्ने थुप्रै गुरुङ (तमु) हरुको साझा पवित्र संस्था तमु धीं भर्जिनियाको छैटौं बार्षिक साधारण सभा यही जुन, १७ तारिख सन् २०२५ मंगलबारका दिन भर्जिनियाको आसबर्न शहरको दिल्ली -६ नामक रेष्टुरेन्टमा एकदम भव्य तरिकाले सम्पन्न भएको छ ।

धेरै लामो कालखण्ड छिचोलेर आएर आज यहॉंसम्म आईपुगेको यो संस्थाको लामो ईतिहास छ । झन्डै २०/ २१ वर्षको यात्रा पार गरी सकेको यो एक परोपकारी र पवित्र उदेश्य बोकेको संस्थाले २०१९ मा आएर आफ्नो पहिलेको ग्रेटर वासिङटन तमु समाज नाम परिवर्तन गरी “तमु धीं भर्जिनिया” भनि नयॉं नाम राखेपछिको यो साधारण सभा छैंटौं पटकको साधारण सभा हो । कार्यक्रममा संस्थाले बिगतमा सम्पन्न गरेका विविध नियमित कार्यक्रमहरु र गतिविधिहरुमाथि बृहत छलफल गरी त्यसबाट के कति गल्ती, कमी कमजोरीहरु भए, कति सफल, असफल भए ? राम्रा र नराम्रा पाटाहरु के कस्ता देखिए ? भन्ने बारेमा घनीभूत बिेश्लेषण गर्नुका साथै आगामी ३ वर्षसम्मका लागि अध्यक्ष नन्द कुमार गुरुङको अध्यक्षतामा २० सदस्यीय नयॉं कार्यसमिति पनि गठन गरिएको छ । यो वहॉंको लगातार चौथो कार्यकाल पनि हो ।

अन्य पदाधिकारीहरुमा उपाध्यक्ष तिलक गुरुङ, सचिवमा थमन गुरुङ, कोषाध्यक्ष चन्द्र कुमारी गुरुङ र सह-कोषाध्यक्षमा माया गुरुङलाई चयन गरिएको छ । त्यसैगरी अन्य कार्यसमिति सदस्यहरुमा सिद्दीजङ गुरुङ, उमेश गुरुङ, हेमन्त गुरुङ, नविन घले, भीम गुरुङ, टीका प्रसाद गुरुङ, स्मृति शाह गुरुङ र सुर्ज गुरुङलाई नियुक्त गरिएको छ । सल्लाहकारहरुमा के.बी. गुरुङ, धन गुरुङ, सुरेन्द्र गुरुङ, चन्द्र गुरुङ र निर बहादुर गुरुङ मनोनित गरिएको छ । सधैं झैं डिगम्बर गुरुङलाई प्रविधि र डिजाईनरको जिम्मेवारी दिईएको छ । यसपटक समाजको प्रवक्ता तथा सचेतकको भूमिकामा बिधान मस्यौदा समिति २०२४ का संयोजक बिन्ती कुमार गुरुङलाई नियुक्त गरिएको छ । सर्वसम्मत रुपमा चुनिएका सबै नयॉं कार्यसमिति सदस्यहरुलाई संस्थाकै अस्थाई रुपमा गठित निर्वाचन आयुक्त प्रमुख तथा सल्लाहकार चन्द्र गुरुङले सपथ ग्रहण गराउनु भएको थियो। सभामा संस्थाका अबका दिनहरुमा संस्थाले गर्न लागेको भावी गतिविधिहरु, अल्पकालिन र दीर्धकालिन योजनाहरुका बिषयहरुमा पनि व्यापक विचार-विमर्श र छलफल गर्नुका साथै संस्थाका सचिव थमन गुरुङद्वारा संस्थागत सचिवालयको प्रतिवेदन र कोषाध्यक्ष चन्द्र कुमारी गुरुङद्वारा आर्थिक वर्ष २०२४ को आयव्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभाको सभापतित्व समाजका अध्यक्ष तथा जग्गा ब्यबस्थापन समितिका संयोजक नन्द कुमार गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रुपमा समाजका अभिभावक तथा नेपाली सेना नेवृत लेफ्टीनेण्ट कर्नेल मोहन प्रताप गुरुङ हुनुहुन्थ्यो । उक्त सभामा समाजकै पदाधिकारीहरु र बिभिन्न ब्यक्तित्व हरुले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

सभामा प्रविधिमा डिजे तथा गायक सुगन्ध श्रेष्ठले साथ दिनुभएको थियो भने उक्त कार्यक्रमलाई Enepalese. Com ले प्रत्यक्ष प्रसारण गरेको थियो । कार्यक्रमको उत्तरार्धमा डिनर एवं जलपान सहितको नाचगान र सांगीतिक रमझमपूर्ण मनोरञ्जन गर्दै यसपटकको तमु धीं भर्जिनियाको छैंटौं साधारण सभा भव्यताका साथ सु- सम्पन्न भएको थियो ।

नवगठित कार्यसमितिलाई Enepalese.com को तर्फबाट सफल र फलदायी कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

प्रतिक्रिया