इजरायलद्वारा तेहरानमा घातक प्रहार: इरानी उच्च सैन्य सेनापति अली शादमानी मारिए

इनेप्लिज २०८२ असार ३ गते ९:३१ मा प्रकाशित

इजरायलले आफ्नो रातभरिको हमलामा इरानका “युद्धकालीन” सैनिक प्रमुख अली शादमानीलाई मारेको दाबी गरेको छ। केही दिनअघि मात्र नियुक्त भएका उनले अघिल्लो हमलामा मारिएका सेनापतिको स्थान लिएका थिए।

इजरायल रक्षा बल द्वारा प्राप्त “सटीक गुप्तचर” र “मंगलबार राति अचानक इजरायली वायुसेनाले तेहरानको मुटुमा रहेको एक केन्द्रमा आक्रमण गरी अली शादमानीलाई समाप्त पारेको आइडिएफ ले एक विज्ञप्तिमा जनाएको छ। शादमानीको मृत्युबारे इरानले भने हालसम्म कुनै टिप्पणी गरेको छैन।

इजरायलको प्रारम्भिक हमलामा उनका पूर्ववर्ती उपरथी (लेफ्टिनेन्ट जनरल) घोलाम अली राशिदसहित धेरै उच्च सेनापतिहरू मारिएपछि शादमानीले गत शुक्रबार यो भूमिका सम्हालेका थिए। राशिद र शादमानीले खातम अल-अन्बिया केन्द्रीय मुख्यालयको नेतृत्व गरेका थिए, जुन नियमित सेना र इरानको क्रान्तिकारी सुरक्षा बल (रिभोलुसनरी गार्ड)बीच समन्वय गर्ने निकाय हो।

आइडिएफको विज्ञप्तिमा भनिएको छ कि “आफ्ना विभिन्न भूमिकामा, (शादमानीले) इजरायल राज्यलाई लक्षित गर्ने इरानको परिचालन योजनाहरूमा प्रत्यक्ष प्रभाव पारेका थिए।”

इजरायली सेनाका अनुसार इरानबाट नयाँ क्षेप्यास्त्रहरू प्रहार भएपछि इजरायलका धेरै भागहरूमा खतराका घन्टी बजेका छन्। इजरायल रक्षा बलले इरानी हमलाहरूलाई रोक्न इजरायलको हवाई रक्षा प्रणालीले काम गरिरहेको जनाएको छ। तेल अभिभमा रहेका एक सिएनएनका प्रतिनिधिले विष्फोटको आवाज सुनेको बताएका छन्।

इजरायलले तेहरानमा दैनिक हमला गरेपछि तेहरानमा पढाइ छाडेका सयौं पाकिस्तानी विद्यार्थीहरू पाकिस्तान फर्किएका छन् । सोमबार २१४ विद्यार्थी तेहरानबाट ताफ्तान सीमा नाका हुँदै बलुचिस्तान प्रान्तमा आइपुगेका छन्। उनले पाँच सय तीर्थयात्री पनि सोही नाकाबाट फर्किएको बताए।

भारतको विदेश मन्त्रालयले मंगलबार जनाएअनुसार तेहरानमा रहेका भारतीय विद्यार्थीहरूलाई शहरबाट सारिएको छ र केही आर्मेनिया हुँदै इरान छाड्ने अपेक्षा गरिएको छ। इरान र इजरायलबीचको द्वन्द्व चर्किएसँगै भारत सरकारले आफ्ना नागरिकहरूलाई देशबाट उद्धार गर्न विभिन्न माध्यमहरू स्थापना गरी अधिकारीहरूसँग सम्पर्कमा रहन आग्रह गरेको छ।

प्रतिक्रिया