ट्रम्पको चेतावनी: ईरानले पूर्ण आत्मसमर्पण नगरेसम्म म वार्ताको पक्षमा छैन

इनेप्लिज २०८२ असार ३ गते ९:५७ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार बिहान वाशिंगटन डिसीमा अवतरण गरेका छन् । उनले क्यानडामा भइरहेको जी७ सम्मेलनलाई बीचमै छाडेर इजरायल र ईरानबीच चर्किँदो तनाव सम्बोधन गर्न अमेरिका फर्किएका हुन्।

व्हाइट हाउसकी छापासचिव क्यारोलिन लेभिटले सोमबार मध्यपूर्वमा भइरहेको घटनाक्रमको कारण राष्ट्रपति ट्रम्प आज राति राष्ट्रप्रमुखहरूसँगको रात्रीभोजपछि अमेरिका फर्कने बताएकी थिइन् ।

वाशिंगटन ओर्लिएसँगै ट्रम्पले कडा सन्देश दिए: “म ईरानसँग वार्ता गर्न चाहन्न। म उनीहरूको पूर्ण आत्मसमर्पणबाहेक केही पनि अपेक्षा गर्दिन।”

ट्रम्पले स्पष्ट पार्दै भने उनले ईरानसँग कुनै पनि “शान्ति वार्ता” सुरु गरेका छैनन्। उनले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा लेखे, “मैले ईरानसँग कुनै पनि किसिमको ‘शान्ति वार्ता’ को पहल गरेको छैन। यो झुटो समाचार हो ”

उनले अगाडी भने , “यदि उनीहरू (ईरानीहरू) वार्ता गर्न चाहन्छन् भने मलाई सम्पर्क कसरी गर्ने भन्ने थाहा छ। उनीहरूले मैले पहिले राखेको प्रस्ताव स्वीकार गरेका भए धेरै जीवन जोगिन्थ्यो!”

ट्रम्पले राष्ट्रिय सुरक्षा परिषदलाई “सिचुएसन रूम” अर्थात् संकट व्यवस्थापन कक्षमा तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। इजरायल–ईरान तनाव गम्भीर मोडमा पुगेको छ र ट्रम्पको आकस्मिक निर्णयले अमेरिकी कूटनीतिक रणनीतिमा नयाँ मोड ल्याएको देखिन्छ।

प्रतिक्रिया