इजरायलद्वारा इरानमा भीषण हमला: अमेरिकी दूतावासद्वारा ‘नजिकबाट निगरानी’

इनेप्लिज २०८२ जेठ ३१ गते १:१७ मा प्रकाशित

इजरायलले शुक्रबार बिहान इरानमा गरेको आक्रमणपछि जेरुसेलमस्थित अमेरिकी दूतावासले परिस्थितिलाई ‘नजिकबाट निगरानी’ गरिरहेको अमेरिकी राजदूत माइक हकाबीले बताएका छन्। हकबीले सामाजिक संजाल एक्समा प्रकाशन गर्दै दूतावास रातभर खुला रहने र जेरुसेलमको शान्तिको लागि प्रार्थना गर्न आह्वान गरेका छन्।

एक अमेरिकी अधिकारीले सिएनएनलाई इजरायलले इरानमा गरेको आक्रमणमा अमेरिकाको कुनै संलग्नता वा सहयोग नभएको बताएका छन्।

इजरायलले इरानमा आक्रमण गरेको घोषणा गरेको छ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले देशमा संकटकाल घोषणा गरिएको बताएका छन्। काट्जले इजरायलको आक्रमणपछि इरानबाट इजरायल र यसको नागरिक जनसंख्यामा क्षेप्यास्त्र र मानव रहित यान (मिसाइल र ड्रोन )आक्रमण तत्कालै अपेक्षित रहेको बताएका छन्।

इरानी सरकारी सञ्चारमाध्यम आईआरएनएले तेहरानमा पटकपटक विस्फोटको आवाज सुनिएको जनाएको छ।

इजरायली रक्षा बलले इरानमा व्यापक हमला गरेको छ। यो आक्रमण ट्रम्प प्रशासन र तेहरानबीच महिनौंदेखि असफल आणविक वार्ताको प्रयासपछि भएको हो। इजरायलले इरानको आणविक सुविधाहरूमा हमला गर्ने धम्की दिएपछि गत वर्ष अप्रिल र अक्टोबरबीच भएको क्षेप्यास्त्र आक्रमणको श्रृंखलापछि यो स्थिति आएको हो।

इजरायल र इरानबीच प्रत्यक्ष संलग्नता सन् २०२४ अप्रिलमा तेहरानले इजरायली भूभागमा पहिलो प्रत्यक्ष आक्रमण गरेपछि सुरु भएको थियो। त्यसको एक हप्ताभित्रै इजरायलले जवाफी कारबाही गर्दै इरानको एस-३०० लामो दूरीको वायु रक्षा प्रणालीको केही अंश नष्ट गरेको थियो।

अक्टोबर १ मा इरानले इजरायलमा प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालिस्टिक मिसाइल )आक्रमण गरेको थियो, जसको जवाफमा इजरायलले अक्टोबर २६ मा सैन्य सुविधाहरू र क्षेप्यास्त्र भण्डारण स्थानहरूलाई लक्षित गर्दै हमला गरेको थियो।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पछि इजरायलको अक्टोबरको हमलाले इरानको आणविक कार्यक्रमको केही अंशलाई आंशिक रूपमा घटाएको पुष्टि गरेका थिए। यस क्षेत्रमा सुरक्षा खतरा बढ्न सक्ने अन्तर्राष्ट्रिय चिन्ताहरू कायमै छन्।

ओमानको मध्यस्थतामा वाशिंगटन र तेहरानबीचको वार्ता अप्रिल १२ मा मस्कटमा पुनः सुरु भएको थियो । ट्रम्पले नेतन्याहूलाई तेहरानमा आक्रमण नगर्न र वार्तालाई अगाडि बढ्न दिन बारम्बार आग्रह गरेका थिए।

प्रतिक्रिया