लस एन्जलसमा आप्रवासी छापा: अपराधी इतिहास भएका आप्रवासीहरू पक्राउ,एक हप्ताको अवधिमा संख्या १०० नाघ्यो

इनेप्लिज २०८२ जेठ २६ गते १६:२८ मा प्रकाशित

लस एन्जलस — अमेरिकी संघीय आप्रवासन अधिकारीहरूले क्यालिफोर्निया राज्यको लस एन्जलस क्षेत्रमा हालै पक्राउ परेका धेरै आप्रवासीहरूको गम्भीर आपराधिक इतिहास रहेको खुलासा गरेका छन् । उनीहरु हिंसात्मक आक्रमणदेखि लागूपदार्थ कारोबारसम्मका अपराधहरू संलग्न भएको फक्सन्यूजले समाचारमा उल्लेख गरेको छ ।

गत शुक्रबार मात्र आप्रवासन तथा सीमा प्रवर्तन (आसिइ ) अधिकारीहरूले विभिन्न स्थानहरू मध्ये दुईवटा होम डिपो ,एक गोडाम र डोनट पसलमा गरि छापा मार्दा ४५ जना आप्रवासीहरूलाई पक्राउ गरे। एक हप्ताको अवधिमा पक्राउ परेका आप्रवासीहरूको संख्या १०० नाघिसकेको छ।

दुई दिन लामो प्रदर्शन र दंगा सुरक्षाबलबीचको झडपपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार लस एन्जलसमा क्यालिफोर्निया राष्ट्रिय सुरक्षा बल (नेशनल गार्ड) तैनाथ गर्ने आदेश दिएका छन् ।

फक्सन्यूजका अनुसार पक्राउ पर्नेहरु मध्येमा गम्भीर अपराधीहरूको सूचीमा फिलिपिन्सका ५५ बर्षिय लान्डो भेनेरासिओन-एन्क्रिकेज रहेका छन् । उनलाई जबर्जस्ती बलात्कारको प्रयास र चोरीको अभियोगमा कुल ४१ वर्षको जेल सजाय तोकिएको छ ।

यसै गरि इक्वेडरका ४२ बर्षिय जोसे ग्रेगोरियो मेद्रान्डा ओर्टिज ११ वर्ष जेलको सजाय पाएका छन् । उनलाई ५ केजीभन्दा बढी कोकिन तस्करीको षड्यन्त्रमा दोषी ठहर गरिएको छ ।

त्यस्तै मेक्सिकोका ४४ बर्षिय आर्मान्डो ओर्दाज छन् । उनि ब्राट्ज १३ गिरोहका सदस्य, यौन दुर्व्यवहार, चोरी र ठगीमा पटकपटक दोषी ठहर परेका छन् ।

यसै गरि मेक्सिकोका ३२ बर्षिय भिक्टर मेन्डोजा-अगुइलार जो भिला ब्वाईज गिरोहका सदस्य हुन् । उनलाई घातक हतियार आक्रमणसहित लागूपदार्थ सम्बन्धी अपराधमा दोषी ठहर गरिएको छ ।

त्यस्तै मेक्सिकोका ५१ बर्षिय डेल्फिनो अगुइलार-मार्टिनेजलाई घातक हतियारद्वारा गम्भीर घाइते बनाएको अभियोगमा एक वर्षको कारागार सजाय सुनाईएको छ ।

समाचारमा जनाईए अनुसार मेक्सिकोका २६ बर्षिय जेसस हर्नान्डेज-मोरालेस अवैध आप्रवासी तस्करी षड्यन्त्रमा दोषी ठहर गरिएको र अमेरिका निकालिएका हुन् । यसै गरि मेक्सिकोका ५५ बर्षिय लियोनेल सान्चेज-लगुना बच्चा कुटपिट, घरेलु हिंसा, बन्दुक प्रहारजस्ता घटनामा दोषी ठहर भै तीन वर्ष जेल सजाय पाएका छन् ।

श्रमिक संगठन एसइआइयु क्यालिफोर्नियाका अध्यक्ष डेविड हुयर्टा समेत प्रदर्शनका क्रममा पक्राउ परेका छन्। संघीय अधिकारीको काममा बाधा पुर्‍याएको अभियोगमा उनीमाथि मुद्दा दायर भएको छ।

आप्रवासन अधिकारीहरूको भनाइ अनुसार यी छापा प्रवर्तनहरू आपराधिक पृष्ठभूमि भएका आप्रवासीहरू हटाउने उद्देश्यले भएका हुन्, तर स्थानीय स्तरमा यसले ठूलो विरोध र राजनीतिक बहस निम्त्याएको छ।

प्रतिक्रिया