यूक्रेनी राजधानी कीभमा रुसले प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल )आक्रमण गरेको यूक्रेनी वायु सेनाले जानकारी दिएको छ। आक्रमणको क्रममा तीन जना नागरिक घाइते भएका छन्। तीमध्ये दुई जनालाई अस्पताल लगिएको छ भने एकजनाको घटनास्थलमै उपचार गरिएको छ।
कीभका नगर प्रमुख (मेयर) भिटाली क्लिट्स्कोले टेलिग्राममार्फत रुसी मानव रहित हवाई यान (ड्रोन)हरू शहरभित्र पसेकोले शरणस्थलमै बस्न आग्रह गरेका छन् ।
शहरका दुई महानगर रेलमार्ग (मेट्रो स्टेशन)बीचको रेल पटरी (ट्रयाक)मा क्षति पुगेको भए पनि आगलागी वा मानवीय क्षति नभएको कीभ सैन्य प्रशासनका प्रमुख तिमुर त्काचेंकोले बताएका छन्। उनले आक्रमणलाई “संयुक्त हमला” भनी व्याख्या गर्दै, “हाम्रो वायु प्रतिरक्षा प्रणाली पूर्ण प्रयासमा छ, तर हामी एकअर्काको सुरक्षामा पनि सधैं सतर्क रहनुपर्छ,” भनेका छन्।
वायु सेनाले लुत्स्क, चेर्निहिभ, ल्भिव र रिभ्नेतर्फ समुन्द्री क्षेप्यास्त्र ( क्रुज मिसाइल )उडाइएकाे पनि जानकारी दिएको छ।
एबिसीन्यूजले जनाए अन्सुअर कीभको उत्तर-पूर्वी सहर चेर्निहिभमा उच्च-तले भवनमा प्रहार भएको प्रारम्भिक सूचना प्राप्त भएको छ। शहर हाल “आक्रमणमा रहेको” चेर्निहिभ प्रशासन प्रमुख दिमित्रो ब्रिझिन्स्कीले टेलिग्राममा लेखेका छन्।
युद्धको तनाव चुलिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच दुरवार्ता भएको थियो। तर सोमबार इस्तानबुलमा भएको दोस्रो चरणको वार्तामा प्रस्तुत गरिएको सम्भावित शान्ति सम्झौताको प्रस्तावबारे कुराकानी नभएको पुटिनका सहयोगी युरी उशाकोभले जानकारी दिए।
यसैबीच आइतबार युक्रेनले गरेको मानव रहित यान (ड्रोन )आक्रमणमा कम्तीमा ११ वटा रुसी बमवर्षक विमान र एक ठूलो यातायात विमान नष्ट भएको पुष्टि भएको छ। राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले यो गोप्य कारबाहीलाई “इतिहासको पानामा लेखिने” भनेका छन्।
प्रतिक्रिया