पछिल्ला दुई विस्फोटपछि पनि मंगलबार साँझ बिश्वकै धनाढ्य इलन मस्कको स्पेसएक्सले फेरि आफ्नो विशाल प्रक्षेपण यान अर्थात् रकेट स्टारशिप प्रक्षेपण गर्यो। तर, नियन्त्रण गुमाएर चकनाचुर भएपछि मुख्य उद्देश्यहरू अधुरै रहन पुगे।
१२३ मिटर अग्लो यो प्रक्षेपण यान टेक्ससको दक्षिणमा अवस्थित क्षेत्रबाट नवौं परीक्षणका लागि प्रक्षेपण गरिएको थियो। प्रक्षेपण स्थल रहेको बस्तीले हालै औपचारिक नगरका रूपमा संगठित हुने निर्णय गरेको छ।
मस्कको प्रतिष्ठान स्पेसएक्स ले उडानपछि नक्कली उपग्रहहरू छुट्याउने योजना बनाएको थियो, तर ढोका नखुल्दा योजना असफल भयो। त्यसपछि यानले नियन्त्रण गुमायो र भारतीय महासागरतर्फ अनियन्त्रित रूपमा घुम्न थाल्यो।
स्पेसएक्सले यानमा “द्रुत अनियोजित विघटन भएको पुष्टि गर्यो । स्पेसएक्सले भन्यो, “हामी तथ्यांकको विश्लेषण गर्दै आगामी परीक्षणतर्फ अगाडि बढ्नेछौं।”
मस्कले एक्समा लेखे, “यो अघिल्ला दुई परीक्षणभन्दा ठूलो प्रगति हो।” ती परीक्षणहरू एटलान्टिकमा टुक्रिए ।
नासाले चन्द्रमामा मानिस पठाउने योजनाका लागि स्टारशिपबाट उल्लेखनीय प्रगति अपेक्षा गरेको छ। आगामी वर्ष चार जना अन्तरिक्षयात्रीहरू चन्द्रमाको परिक्रमा गर्नेछन्, तर अवतरण सन् २०२७ भन्दा पहिले हुने छैन।
प्रतिक्रिया