बेलायत सरकारले गाजामा जारी इजरायली सैन्य कारबाहीलाई ‘असह्य र अमानवीय’ भन्दै इजरायलसँगको स्वतन्त्र व्यापार सम्झौता वार्ता स्थगित गरेको छ। बेलायती विदेश मन्त्री डेभिड ल्यामीले गाजामा भइरहेका आक्रमणलाई ‘राक्षसी’ भन्दै कडा शब्दमा निन्दा गरे।
सरकारले करिब ३० वटा हतियार निर्यात अनुमति निलम्बन गरेको छ, जसमा लडाकु विमान, उदग्रविमान(हेलिकप्टर), मानव रहित यान(ड्रोन )र जमिन लक्षित प्रणालीमा प्रयोग हुने सामग्री समावेश छन्। बेलायती सरकारले यस्ता सामग्रीहरू अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लंघन गर्न प्रयोग हुनसक्ने ठहर गरेको छ।
यस निर्णयसँगै बेलायतले केही यहूदी वस्तीहरूमा संलग्न व्यक्तिहरू तथा समूहहरूलाई पनि प्रतिबन्ध लगाएको छ, जसले पश्चिमी किनारमा प्यालिस्टिनीहरु बिरुद्ध हिंसा फैलाउँदै आएका थिए।
बेलायतको यो कदम फ्रान्स र क्यानडालगायत अन्य देशहरूले इजरायलको कारबाहीको विरोधमा चालेका कदमसँग मेल खान्छ। ती देशहरूले पनि तुरुन्त युद्धविराम र गाजामा मानवीय सहायता प्रवेशको माग गरेका छन्।
इजरायलले भने बेलायतको निर्णयलाई ‘लज्जास्पद’ भन्दै खारेज गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विदेशी दबाबले इजरायली सैन्य अभियानलाई असर पार्ने छैन भनेका छन्।
इजरायली विदेश मन्त्री इजरायल काट्जले बेलायतको निर्णय हमास र त्यसका सहयोगीहरूलाई गलत सन्देश दिने बताए।
यो निर्णयले बेलायतको इजरायलमाथिको कूटनीतिक दबाबलाई प्रष्ट रूपमा देखाएको छ, जसले गाजाको मानवीय संकटबारे अन्तर्राष्ट्रिय चिन्ता बढेको संकेत दिन्छ।
प्रतिक्रिया