“ट्रम्प–पुटिन वार्ता: युद्ध अन्त्यमा चासो देखिए पनि युद्धविरामको समयसीमा तय भएन”

इनेप्लिज २०८२ जेठ ७ गते १४:१३ मा प्रकाशित

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आज भएको दूरभाष (टेलिफोन )वार्तामा युक्रेन-रूस युद्धको संभावित युद्धविरामको समयसीमा तय नभएको क्रेमलिनका राष्ट्रपति सल्लाहकार युरी उशाकोभले जानकारी दिएका छन्।

उशाकोभले दुई घण्टासम्म चलेको वार्तामा सम्भावित युद्धविरामको कुनै म्याद वा निश्चित समयसीमा तय भएको हो कि भन्ने प्रश्नमा भने, “छैन, त्यो विषयमा कुनै छलफल भएन। तर ट्रम्पले छिटोभन्दा छिटो सहमति गर्न चाहेको कुरा भने स्पष्ट रूपमा राखेका थिए।”

वार्तापछि राष्ट्रपति ट्रम्पले भने, “रूस र युक्रेनले तत्कालै युद्धविराम र अझ महत्वपूर्ण कुरा — युद्धको अन्त्यका लागि वार्ता सुरु गर्नेछन्,” भनी घोषणा गरेका थिए।

उशाकोभका अनुसार दुबै नेताबीचको संवादमा प्रत्यक्ष भेटवार्ता गर्ने चाहना पनि स्पष्ट रूपमा झल्किएको थियो। यद्यपि त्यस्तो बैठक कहिले हुने भन्ने विषयमा उनले केही भन्न सकेनन्।

“दुबै राष्ट्रपतिहरु बैठक केवल औपचारिकतामा सीमित नहोस्, बरु फलदायी होस भन्ने चाहना राखेका छन् ,” उशाकोभले उल्लेख गरे।

यस संवादले रूस-युक्रेन युद्ध अन्त्यतर्फ कूटनीतिक पहलले गति लिने सम्भावना देखाए पनि युद्धविरामको ठोस मिति तय नहुनु अझै चुनौतीपूर्ण स्थितिको संकेत हो।

प्रतिक्रिया