मे १९, २०२५
कोलोराडो, अमेरीका
नेपालको ओखलढुङ्गा जिल्लामा जन्मिहुर्किएका र अहिले भारतमा ख्याती कमाएका श्रद्धेय श्री १००८ कालिदास बाबा जी महाराज श्री कृष्णानन्द परमहन्स कोलोराडो आउने भएका छन् ।
बाबाको कोलोराडो आगमनको मौका छोपी रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजना तथा नेपाली घरको सहयोगमा यही मे २४ तारिक शनीबार नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा बिहान ११ बजे देखि दिउसो १ बजेसम्म प्रवचन कार्यक्रमको आयोजना गरिएको छ।
नेपाली जातिको शान र गौरवमा रमाउने, सनातन हिन्दु धर्म र देवभूमि नेपालको उन्नति र प्रगतिको लागि हमेसा चिन्तनरत सन्त योगी कालिदास बाबा मातृभूमि नेपाललाई माया गर्ने हरेक नेपालीका लागि प्रेरणाका स्रोत हुन् ।
संसारभरका साधुसन्तहरुको बीच अलग्गै पहिचान बनाएका सादा जीवन र उच्च आध्यात्मिक विचारका परिपालक सन्त बाबा कालिदास भारतको निरन्जनी अखडाको महामण्डलेश्वर समेत रहेका छन् । श्रद्धेय श्री १००८ स्वामी कालीदास बाबाजीको सान्निध्यमा आशिर्बचन सुन्ने र उनीसँग आध्यात्मिक उर्जा प्राप्त गर्ने तथा मनमा लागेका आध्यात्मिक जिज्ञासाहरुको पनि उत्तर खोज्ने अवसर प्राप्त भएकोले इच्छुक महानुभावहरूलाइ उपस्थित हुनको लागि आयोजक संस्थाले बिभिन्न सामाजिक संजालको मार्फत सामुहिक निमन्त्रणा पठाएको छ ।
ओखलढुंगामा जन्मिएका कालिदास दाहाल नै अहिले कालीबाबाका रूपमा परिचित हुन् । कालिदास दाहालको अहिलेको परिचय श्री १००८ बाबा कालिदास जी महाराज श्री कृष्णानन्द परमहन्स हो । उनको संन्यासी नाम श्री कृष्णानन्द परमहंस हो । भारतमा विख्यात बाबा कालिदास, त्यहाँ ठुला साधुसन्तमा गनिन्छन् ।
देवीको अखण्ड साधना गरेर सिद्धि पाएका बाबा कालिदास तन्त्रका ज्ञाताका रूपमा पनि परिचित छन् । वर्षौंको साधनापछि सिद्धि पाएका बाबा कालिदास बौद्धिक व्यक्तित्व पनि हुन् । भौतिक विज्ञानमा स्नातकोत्तर गरेका बाबा कालिदास भौतिकताबाट विरक्तिएपछि आध्यात्मिक बाटोतर्फ लागेका हुन् ।
ज्योतिष पिता मनोहर दाहालका जेठा छोरा कालीबाबाले सानैमा ज्योतिष विद्या पनि हासिल गरेका थिए । पढेलेखेको उनको परिवार ग्रामीण क्षेत्रमा सम्पन्न परिवारका रूपमा चिनिन्थ्यो । बनारस हिन्दू विश्वविद्यालयबाट भौतिक शास्त्रमा स्नातकोत्तर पूरा गरेपछि उनले काठमाडौंस्थित अमृत साइन्स कलेजमा करिब एक वर्ष प्राध्यापन गरेका थिए । पछिल्ला वर्षहरूमा हिन्दू सनातन धर्मलाई नेपालको राष्ट्रिय धर्मका रूपमा फर्काउनुपर्छ भनेर वकालत गर्दै आएका बाबा हजारौं शिष्यका गुरु समेत हुन् ।
उक्त अवसरमा कोलोराडो नेपाली समुदायको तर्फबाट गुरुदेवको सम्मान कार्यक्रम पनि राखिएको र कार्यक्रमको समापन पश्चात प्रसादको पनि व्यवस्था गरिएको रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका महासचिव तेजप्रसाद ढकालले बताएका छन् ।
पत्रकार/लेखक
प्रतिक्रिया