लुजियाना कारागारबाट १० कैदी फरार गराउन सहयोग गर्ने कामदार पक्राउ

इनेप्लिज २०८२ जेठ ७ गते २२:३३ मा प्रकाशित

अमेरिकाको लुजियाना राज्यको न्यू अर्लियन्सको एक कारागारमा कार्यरत मर्मतसम्भार कर्मचारीलाई कैदी भाग्न सहयोग गरेको आरोपमा पक्राउ गरिएको छ।

लुजियाना राज्यका महान्यायाधिवक्ता लिज म्युरिलले मंगलबार पुष्टि गरेअनुसार ३३ वर्षीय स्टर्लिङ विलियम्सलाई सोमबार राति पक्राउ गरिएको हो। उनी ओरलिन्स प्यारीश शेरिफ कार्यालयद्वारा सञ्चालित झ्यालखाना (जेल)मा काम गर्थे।

विलियम्समाथि १० जना कैदी भाग्न मद्दत गरेको आरोप लागेको छ। अदालत कागजातअनुसार उनले अनुसन्धानकर्तालाई भनेका छन् कि भाग्ने योजना बनाइरहेका कैदीमध्ये एक एन्टोइन म्यासीले उनलाई पानी बन्द नगरे कारागारमै चक्कुजस्तो हतियार प्रहार गर्ने धम्की दिएका थिए।

आरोपपत्र अनुसार, कैदीहरू भाग्ने कोठामा शौचालय पर्खालबाट हटाएर सुरुङ बनाइएको थियो, र त्यसअघि विलियम्सलाई उक्त कोठाको पानी आपूर्ति बन्द गर्न लगाइएको थियो।

हालसम्म तीमध्ये ६ जना कैदीहरू अझै फरार छन्, र म्यासी पनि उनीहरूमध्ये एक हुन्। अधिकारीहरूले फरार कैदीहरूको खोजी जारी राखेका छन्।

प्रतिक्रिया