राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर(पुर:स्थ अबुर्द) भएको खबरप्रति दुःख व्यक्त गर्दै शीघ्र र सफल स्वास्थ्य लाभको शुभकामना दिएका छन्।
उनको आफ्नो सामाजिक संजाल ट्रुथ सोशलमा प्रकाशन गर्दै ट्रम्पले लेखे, “मेलानिया र म जो बाइडेनको पछिल्लो स्वास्थ्यसम्बन्धी खबर सुनेर दुःखी भएका छौं। हामी जिल र सम्पूर्ण परिवारलाई सान्त्वना प्रकट गर्दै बाइडेनको शीघ्र र सफल उपचारको कामना गर्दछौं।”
ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरले पनि एक्स (पूर्व ट्विटर) मा प्रतिक्रिया दिँदै बाइडेनको स्वास्थ्यप्रति सद्भाव प्रकट गरे। उनले लेखे, “राजनीति अलग विषय हो, तर हामी बाइडेनको छिटो निको हुने कामना गर्दछौं। म यसमा १००% सहमत छु।”
बाइडेनका कार्यालयले आइतबार पुष्टि गरेअनुसार उनलाई (पुर:स्थ ग्रन्थी अबुर्द )प्रोस्टेट क्यान्सरको आक्रामक प्रकार अर्थात् उच्च जोखिमयुक्त र घातक रहेको छ । अर्थात् अङ्क (स्कोर )९, श्रेणी समूह (ग्रेड ग्रुप ५) को अर्थ प्रोस्टेट क्यान्सर अत्यन्त गम्भीर र छिटो फैलिने अवस्थाको छ। यो उच्च जोखिमयुक्त अवस्था हो, जसले गम्भीर उपचार आवश्यक बनाउँछ। जुन हड्डीमा समेत फैलिएको छ।
बाइडेनको चिकित्सक टोलीले एक विज्ञप्तिमा भनेका छन्, “गत हप्ता राष्ट्रपति बाइडेनमा पिसाबसम्बन्धी समस्या बढेपछि जाँच गरिएको थियो। शुक्रबार उनलाई अबुर्द भएको पुष्टि भयो। तर यो अबुर्द हार्मोन-संवेदनशील देखिएकाले प्रभावकारी उपचार सम्भव छ।”
८२ वर्षीय जो बाइडेन अमेरिकी इतिहासका सबैभन्दा वृद्ध जीवित राष्ट्रपति हुन्। हाल उनका परिवारहरु उपचारका विकल्पहरूबारे चिकित्सकहरूसँग छलफल गरिरहेका छन्।
प्रतिक्रिया