काठमाडौं — बेलायती पर्वत मार्गदर्शक केन्टन कूलले संसारकै सर्वोच्च शिखर सगरमाथा (एभरेष्ट) आइतवार १९ औँ पटक आरोहण गर्दै गैर-शेर्पा आरोहीको तर्फबाट सबैभन्दा बढी पटक सगरमाथा चढ्ने कीर्तिमान तोडेका छन्।
५१ वर्षीय कूलले ८,८४९ मिटर (२९,०३२ फिट) उचाइको यो शिखर आइतवार अन्य केही आरोहीहरूसँगै सफलतापूर्वक आरोहण गरेका हुन्। हिमालयन गाइड्स नेपालका इस्वरी पौडेलका अनुसार उनी अहिले शिखरबाट तल झर्दैछन् र उनको स्वास्थ्य ठीक रहेको छ।
कूलले पहिलोपटक २००४ मा सगरमाथा चढेका थिए र त्यसयता प्रायः प्रत्येक वर्ष आरोहण गरिरहेका छन्। तर सन् २०१४ मा हिमपहिरोमा १६ जना शेर्पा मार्गदर्शक (गाइड)को मृत्यु भएपछि, र २०१५ मा भूकम्पपछिको हिमपहिरोमा १९ जनाको मृत्यु हुँदा उनले आरोहण गर्न पाएनन्। त्यस्तै, २०२० मा कोरोना महामारीका कारण आरोहण मौशम रद्ध गरिएको थियो।
वसन्त ऋतु सगरमाथा आरोहणको मुख्य मौशम मानिन्छ । यस समयमा सयौं आरोही र हिमाल पथ प्रदर्शक (गाइड)हरू शिखरतर्फ लागेका छन्। मौसम बिग्रनु अघि अर्थात् मनसुन सुरु हुनुअघि धेरैले आरोहण पूरा गरिरहेका छन्।
हालसम्म कूलभन्दा बढी पटक सगरमाथा चढ्नेहरू नेपाली शेर्पा पथ प्रदर्शक( गाइड)हरू मात्रै रहेका छन्। तीमध्ये कामी रिता शेर्पाले सगरमाथा ३० पटक चढ्ने कीर्तिमान राखेका छन् । हाल उनी पनि शिखरतर्फ यात्रा गरिरहेका छन्।
प्रतिक्रिया