फुमी सानको निस्छल व्यवहार र जापानी संस्कृति

🖎गोपी मैनाली २०८२ जेठ ५ गते ३:५३ मा प्रकाशित

(नियात्रा दैनिकी)

बिहानै हामीहरु निहोनमात्सु विद्यालयमा सांस्कृतिक आदान प्रदान कार्यक्रमका लागि ची इकेनोसँग मोटर चढ्यौंँ । हामीहरुलाई तीन समूहमा विभाजन गरिएकोले यस मोटरमा म, विरोल, वायरा, तान्यापोर्न, जमील र सोनसोङ्ग छौैैं । हाम्रो मोटर माचिदा शहर हुँदै कानागावा प्रिफेक्चरको शागामीहारा पुगेर अडियो ।

स्वागत गर्नका लागि कलिला विद्यार्थी र उनीहरुका शिक्षक तयार रहेछन् । पुग्ने वित्तिकै हामीहरु सबैलाई एक एक जना दोभाषेको जिम्मा लगाइयो । मसँग विश्वविद्यालयमा एम.ए.अंग्रेजी भाषा पढ्दै गरेकी फुमिका होण्डा रहने निश्चित गरिएको रहेछ । पहिला दोभाषे र अतिथिलाई एकअर्का प्रति नजिक्याउने कार्यक्रम छ । जसका लागि म र फुमिका पन्ध्र मिनेट जति परिचय, गफगाफ र छलफलमा रहयौ । अरु साथीहरु पनि यही कार्यमा व्यस्त रहे । त्यसपछि स्वागत कार्यक्रममा लैजान हामी प्रत्येकलाई दुई दुई जना बच्चा खटाइएको छ । पाहुनालाई बच्चाले हातमा समाएर दोभाषेले पछ्याउँदै जाने नियमका साथ हामीहरु जीमहलमा पुग्यौं । जीमहलमा सबैको परिचयपछि विद्यार्थीहरुले सामूहिक गाना गाएर हामीहरुको स्वागत गरे ।

मञ्चका भित्ताभरि नेपाल—जापान लगायत अरु पाँच देशका झण्डा बनाइएको छ । परिचय कार्यक्रम सकिएपछि पुस्तकालयमा छ वटा टेवल सेटिङमा हामीहरु छलफलमा व्यस्त भयौै । फुमिकालाई मेरो र नेपालको विषयमा बताउनु छ । मैले कक्षा दुईका तीनवटा सेक्सनमा एक—एक घण्टा नेपालको विषयमा पढाउनु छ । पहिलो कक्षा मलाई अलिकति असजिलो लाग्यो—आफ्नो व्यक्तिगत र नेपालको कुरा बताए— फुमिकाले विस्तारै अनुवाद गरिन् । शायद उनलाई अनुवाद गर्न हम्मेनै प¥यो । म निकै छिटो बोल्ने फुमिका भने जापानी स्वभावकी भएकीले अनुवाद ढिलो हुनुमा आश्चर्य पनि भएन । धन्न भ्याइन् ।

विद्यार्थीहरु वडोे रसिक र उत्सुक छन् । उनीहरुमा नेपालका विषयमा जान्ने थुप्रै उत्सुकता पनि छ । मैले जब सानो हुँदा बाघ आउने बाटो हुँदै दुई घण्टाको यात्रा पार गरेर दैनिक पढ्न जान्थे भनेपछि बच्चाहरु अझै खुसी भएर पालैपालो प्रश्न गर्न थाले । एक पटक बाघ कराएको सुनेर म रोएको थिए के भनेको थिए, बच्चाहरु पनि झण्डै रोएका, निन्याउरिएका र टोल्हाएका भए । सम्झें तिनीहरु शुभम र सुब्रत जस्तै न हुन् । सबैका आँखामा मेरो बच्चाको प्रतिरुप छ । अनि मैले शुभम र सुब्रतको तस्विर देखाएर म मेरा बाबुहरु साथमा भएको कल्पना गरिरहेको छु भनरे भने पनि बालबालिकालाई । सबै खुसी भएर मेरो अंगालोमा आए ।

त्यसपछि मैले उनीहरुसँग नाच्नु पर्ने रहेछ तर म नाच्न नजान्ने र लजालु स्वभावको मानिस, फुमिकाले मेरो हात समाइन् र नाचे जस्तो अभिनय गर्न भनिन्—आज्ञाकारी बच्चा जस्तै भएर त्यसै गरें । उनले हात समाएर बच्चासँग बोलाइन् । यतिकैमा एउटा बच्चाले फुमिकालाई केही कुरा भन्यो र मतिर हे¥यो । ‘मैनालीसान’ बाहेक जापानी मैले बुझिन । फुमिकालाई मैनालीसान तिम्रो ‘ब्वाई फ्रेन्ड’ हो भनेको रहेछ । फुमिकाले नै यो कुरा वताईन् । उनले साथी मात्र हो भनिन् रे ! सँगै फोटो खिचेर केही क्षण आरामका लागि छुट्टियौ ।

पुस्तकालयमा आधाघण्टा आराम गर्नु छ । यस विद्यालय कि एउटा शिक्षिका केही अघि नेपालको पोखरा सराङकोट घुमेकी रहिछन् । उनलाई नेपालको विषयमा प्रशस्त थाहा रहेछ । नेपालको पहाड, हिमाल र पदयात्राको प्रशस्तै प्रशंसा गरेपछि म खुसीले रमाउनेनै भएँ । अर्को शिक्षक भारत घुमेको तर नेपाल र भुटानको विषयमा केही जानकारी भएका मानिस रहेछन् । गफ गर्दै थिएँ—एउटा बच्चा र एउटी बच्ची म र फुमिकालाई खानाका लागि आग्रह गर्न आए । यो पनि जापानी आतिथ्यको एउटा भाग नै रहेछ । म र फुमिकासँग रहेर बच्चाले फोटो के खिच्दै थिए वायराले भन्यो—‘मैनाली, तिमीहरु त बाबु, आमा र छोराछोरीजस्तो पो देखियौं ।’ किन त्यस्तो देखिस् त भनेर प्रश्न गरें ।

यत्तिकैमा हामी कक्षाकोठामा खानाका लागि सामेल भयौँ । पाउरोटी, दूध (चिसो), सलाद र तरकारी जस्तो देखिने माछा, आलु र सागपातको लेदो परिकार छ । हामी सबै जना खान के बसेका थियाँै—सबैजना उठेर खानाको विषयमा एक हरफको प्रार्थना गर्न भनियो । खाना ठिकै लाग्यो । फुमिकाले आफू पेटको रोगी भएकिले उनको दूधको वटृा मतिर सार्दै पिउन अनुरोध गरिन् तर चिसो दूध नमिठो लागेकाले मैले त्यसलाई पिउन सकिन, जापानी सस्कारमा अनुरोधलाई स्वीकार्नु पर्ने प्रचलनको पनि मलाई हेक्का रहेन । खानापछि पुनः प्रार्थना गर्नुपर्ने रहेछ ।

सबै बच्चाहरुले मलाई बल खेल्न अनुरोध गरे । फुमिकाले दिक्क नलागे खेल्न जान अनुरोध गरिन् तर भाषा र नियम केही नजान्ने मानिसले कसरी बल खेल्न सक्छ ? तैपनि आधाघण्टा खेलेको जस्तो गरेर बिताएँ । अब तेस्रो कक्षामा जानु छ । मैले फुमिकालाई भने ‘अब मेरो र नेपालको विषयमा तिमीलाई धेरै थाहा भयो— आफै बताउ ।’ उनले कसरी पढिस्, पढ्दाको बाल्यकालको अनुभव बताउ, म अनुवाद गर्छु भनिन् । त्यसै गरेँ । सबै विद्यार्थीहरुले बीचमा आपूm, दायाबायाँ नेपालको र जापानको झण्डा बनाएर राखेका छन् मलाई उपहार दिन । सबैले पालैपालो अभिभावन गर्दै दिए । उनीहरुको गीतमा कक्षा विदाईको लागि पुनः नाच्नु पर्ने रहेछ । फुमिकाले नाच्न के संकेत गरेकी थिइन् एउटा बच्चाले फुमिकाको हात समातेर मेरो हातमा राखिदिएर समाउन लगायो । उसले भनेछ तिमीहरु ‘लोग्ने—स्वास्नी बन’ । फुमिकाले यो कुरा बताएपछि म दिक्क मानेँ र भने उनी मेरी बहिनी सरह हुन्, मेरो त तिमीहरु जस्तै बाबुहरु छन् । तर उसले भनिरह्यो तिमी दुई ‘लोग्ने स्वास्नी हौ ।’ तर फुमिकाले कत्ति पनि लाज मानिन । लाग्यो जापानी समाज हाम्रो जस्तो लजालु रहेनछ तर म भने कता कता लजाउँदै रहेँ । त्यो देखेर होला फुमिका पनि अलिक भावुक देखिइन् ।

अन्तमा बिदाई अभिवादनको कार्यक्रम आयोजना गरियो । हामीहरु शिक्षक शिक्षिकसँग बसेर अनुभवको आदानप्रदानसहित खाजा खानु पर्ने कार्यक्रम छ । मैले अनुभवभन्दा पनि नेपालको विषयमा बताएँ । मेरो विषयमा प्रशस्त सोधे—सबै बताएँ । सगरमाथा र गौतम बुद्धको चित्र पर्यटन चिनारी र नेपालको शैक्षिक दर्पण उपहारका रुपमा हस्तान्तरण गरेँ । फुमिका, इकेनो सबैलाई भने म नियात्रा दैनिकी लेख्दै छु, यो अविस्मरणीय घटनाले त्यसमा स्थान पाउने छ । उनीहरु खुसी भए र मलाई उपहार दिए—एउटा कविताको श्लोक र केही बाल खेलौनाहरुसहित । फुमिकाले यो तिमीले तिम्री श्रीमतीलाई वैठक कोठामा सजाउन भन्नु भनिन् । मैले स्वीकार गरेँ र सबैलाई नेपाल आउने निमन्त्रण पनि दिएँ । मैले फुमिकालाई छुट्टै उपहार दिएँ कलात्मक थैलीमा इलामे चिया —उनी खुसी भइन् र इमेल ठेगाना दिइन् । त्यसपछि फुमिकाले भनिन् ‘मैनाली सर म धेरै व्यस्त छु, रेष्टुराँमा काम गरेर एम.ए. पढ्दैछु मेल कनेक्सनमा आउने पनि त्यति फुर्सद नहोला तर यो मित्रतालाई सम्झदै रहनुहोला ।’ मैले हात मिलाएर फुर्सदमा सम्झन र मेलमा आउन अनुरोध गरंँ । छुट्टिने बेलामा निकै मलिनो अनुहारमा उनले हात हल्लाइन् । मनमनै सोचें फुमिका तिमी आजको दैनिकीकी अविस्मरणीय पात्र मात्र हौैं १ (आँखाभरि रमिता, मनभरि वेदनाबाट)

प्रतिक्रिया