साउदी युवराजप्रति ट्रम्पको उच्च प्रशंसा: “उमेरभन्दा धेरै बुद्धिमान” — दुई राष्ट्रबीच अर्बौं डलरको लगानी र घनिष्ठ साझेदारीको घोषणा

इनेप्लिज २०८२ वैशाख ३० गते १२:३७ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार साउदी युवराज मोहम्मद बिन सलमान सँगको द्विपक्षीय बैठकमा उनको अत्यधिक प्रशंसा गर्दै दुई राष्ट्रबीचको बलियो व्यापारिक सम्बन्धलाई प्रमुखतामा राखे। ट्रम्पले भने, “हामी एकअर्कालाई साँच्चै मन पराउँछौं। हाम्रो सम्बन्ध अद्भुत छ। यो भ्रमण मेरो लागि सम्मान हो।”

ट्रम्पले युवराजलाई “अत्यन्त बुद्धिमान, उमेरभन्दा धेरै परिपक्व” भनेर वर्णन गर्दै आफू उनीबाट “एकदम प्रभावित” भएको बताए। गाजाको द्वन्द्व र रुस–युक्रेन युद्ध समाधान गर्न ट्रम्पका प्रयासहरूमा युवराज एक महत्त्वपूर्ण मध्यस्थको रूपमा उदाएका छन्।

सन् २०१८ मा पत्रकार जमाल खशोग्जीको हत्यापछि अन्तर्राष्ट्रिय रूपमा एक हदसम्म अलग्गिएको साउदी नेतृत्वले ट्रम्पसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन निरन्तर प्रयास गरिरहेको छ।

ट्रम्पले अमेरिकी भूमिमा साउदी लगानीको प्रशंसा गर्दै भने, “यसले असंख्य रोजगारी सिर्जना गर्नेछ।” उनले पहिल्यै घोषणा गरिएको ६०० बिलियन डलरको लगानी सम्झौतालाई उल्लेख गर्दै हाँस्दै भने, “यो १ ट्रिलियन डलर बन्नेछ।”

सिएनएनका अनुसार ट्रम्पले यो भ्रमणमा भू–राजनीतिक संवेदनशील विषयहरू—जस्तै हमास–इजरायल द्वन्द्व र इरानसँगको आणविक वार्ता—भन्दा बढी व्यापारिक सम्झौताहरूलाई सार्वजनिक रूपमा प्राथमिकता दिइरहेका छन्।

दुबै देशका उच्च अधिकारीहरूबीचको बैठक एक अत्यन्त ठूलो सभा कक्षमा सम्पन्न भयो । जहाँ ट्रम्प र युवराज अगाडि बसेका थिए । दुबै पक्षका प्रतिनिधिहरू दायाँ–बायाँ थिए। यो बैठकले अमेरिका–साउदी सम्बन्धलाई थप मजबुत बनाएको प्रष्ट देखिएको छ।

प्रतिक्रिया