अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबको रियादमा आयोजना भएको अमेरिकी-साउदी निवेश मञ्चमा बोल्दै महत्त्वपूर्ण घोषणा गरेका छन्। यो भ्रमण ट्रम्पको पहिलो प्रमुख अन्तर्राष्ट्रिय यात्रा हो, जसमा उनले साउदी अरब, कतर र संयुक्त अरब इमिरेट्सका नेतासँग भेटघाट गर्नेछन्।
ट्रम्प प्रशासनले साउदी अरब सरकारसँग केही नयाँ सम्झौतामा हस्ताक्षर गरेको छ, जसमा सैनिक सहकार्य पनि समावेश छ। यस भ्रमणका क्रममा ट्रम्पले यून्सेकोको विश्व धरोहर स्थलको भ्रमण गर्नेछन्, र त्यसपछि राज कुमारसँग रात्रिभोज गर्ने कार्यक्रम छ।
इलन मस्क पनि साउदी अरबमा रहेका छन् । उनले सामाजिक संजाल एक्सको प्रमुख कार्यकारी अधिकारी(सिइओ)को हैसियतले मञ्चमा भाग लिएका छन्। मस्क ट्रम्पका वरिष्ठ सल्लाहकारको रूपमा पनि कार्य गर्दै आएका छन् । अमेरिकी सरकारको दक्षता विभागको प्रमुख छन्।
व्हाइट हाउसले मङ्गलबार घोषणा गरेअनुसार, राष्ट्रपति ट्रम्पले साउदी अरबबाट अमेरिकामा ६०० बिलियन डलरको लगानी प्रतिबद्धता हासिल गरेका छन्। यसमा १४२ बिलियनको रक्षा साझेदारी पनि समावेश छ।
व्हाइट हाउसले यस सम्झौतालाई “ऐतिहासिक र रूपान्तरणकारी” क्षणको रूपमा वर्णन गर्दै यसले अमेरिकी र साउदी सम्बन्धमा नयाँ युगको सुरुवात गरेको र ऊर्जा, रक्षा, पूर्वाधार, स्वास्थ्य र प्रविधिका महत्त्वपूर्ण क्षेत्रहरूमा विशाल आर्थिक अवसरहरू खोलेको बताएको छ।
अमेरिका साउदी अरबको सशस्त्र सेना क्षमता वृद्धि गर्न सहयोग गर्ने उद्देश्यले एक आशय पत्रमा हस्ताक्षर गरेको छ। सम्झौताहरूमा साउदी आन्तरिक मन्त्रालय र एफबीआई बीचको सहकार्य योजना, साउदी न्याय मन्त्रालय र अमेरिकी न्याय विभाग बीचको सहकार्यसमेत समावेश रहेका छन् । अर्को सम्झौतामा खनिज र खानी स्रोतहरूमा सहकार्यका लागि साउदी उद्योग मन्त्रालय र अमेरिकी ऊर्जा विभागबीचको सहकार्यको वचन पनि दिइएको छ। अर्काे सम्झौतामा संक्रमक रोगहरूका सम्बन्धमा चिकित्सा अनुसन्धानमा सहयोगको वचन दिइएको छ।
हस्ताक्षर समारोहमा अमेरिकी विदेश सचिव मार्को रुबियो, रक्षा सचिव पीट हेगसेथ, व्यापार मन्त्री होवार्ड लटनिक र राजस्व सचिव स्कट बेशेन्ट लगायत अन्य उच्च सरकारी अधिकारीहरू पनि उपस्थित थिए।
ट्रम्प र सिरियाका राष्ट्रपति अहमद अल-शारा बीच रियादमा ऐतिहासिक भेट हुने भएको छ । सिरियाका राष्ट्रपति अहमद अल-शारासँग बुधबार अनौपचारिक भेट गर्नेछन् । यो भेट अमेरिकी र सिरियाली सम्बन्धका लागि एक महत्त्वपूर्ण क्षण हुनेछ।
प्रतिक्रिया