अमेरिका–चीनबीच ऐतिहासिक सम्झौता: ९० दिनका लागि पारस्परिक शुल्क घटाउने सहमति

इनेप्लिज २०८२ वैशाख २९ गते ९:५९ मा प्रकाशित

अमेरिका र चीनले सोमबार संयुक्त वक्तव्य जारी गर्दै ९० दिनका लागि पारस्परिक व्यापारिक शुल्क (ट्यारीफ) घटाउने ऐतिहासिक सम्झौताको घोषणा गरेका छन्। दुवै पक्षले दीर्घकालीन, दिगो र आपसी फाइदाजनक आर्थिक सम्बन्धको महत्त्वलाई मान्यता दिएका छन्।

स्विट्जरल्यान्डको जेनेभामा भएको वार्तामा राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अप्रिलमा घोषणा गरिएको “मुक्ति दिवस शुल्क ” को असर कम गर्न नयाँ व्यापारिक सहमतिका लागि आधार तयार गरिएको हो। ती शुल्कले दुई आर्थिक महाशक्तिहरूबीच तनाव बढाएको र अमेरिकी बजारमा मंदीको डर पैदा भएको थियो।

अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले सोमबार पत्रकार सम्मेलनमा भने, “हामी ९० दिनका लागि शुल्क स्थगन गर्न र भन्सार शुल्कको स्तर उल्लेख्य रूपमा घटाउन सहमत भएका छौं।” उनले थपे, “दुवै पक्ष ११५% ले शुल्क घटाउने छन्।”

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरका अनुसार, अब पारस्परिक शुल्क १०% मा स्थिर रहनेछ। “अमेरिकाको तर्फबाट शुल्क १०% हुनेछ, चीनले पनि आफ्नो ट्यारीफ ११५% ले घटाएर १०% मा ल्याउनेछ,” उनले स्पष्ट पारे।

संयुक्त वक्तव्य अनुसार, यो सहमति बुधबारदेखि लागू हुनेछ। ग्रियरले पुष्टि गरेअनुसार यो अवधिमा अमेरिकी बजारमा प्रवेश गर्ने चिनियाँ वस्तुमा प्रभावकारी शुल्क ३०% हुनेछ भने चीनले अमेरिकी वस्तुमा १०% मात्र शुल्क लगाउनेछ।

चीनका उपप्रधानमन्त्री हे लिफेङले पनि वार्तालाई “महत्वपूर्ण सहमति” र “ठोस प्रगति” भएको बताएका छन्। यस सहमतिले व्यापार युद्ध कम गर्न नयाँ आशा जगाएको छ।

प्रतिक्रिया