अमेरिकाको न्यू जर्सी राज्यको ग्लोसेस्टर काउन्टीस्थित वाशिङटन उपनगर (टाउनशिप)मा आइतबार बिहान २:०२ बजे भएको एक शक्तिशाली विस्फोटले एक घरलाई पूर्ण रूपमा ध्वस्त बनाएको छ। स्थानीयहरूका अनुसार विस्फोटको आवाज यति शक्तिशाली थियो कि बम पड्किएको उनीहरुले अनुभव गरे ।
वाशिङटन उप नगर प्रहरीका अनुसार ट्राङ्क्विलिटी तथा ओरियन मार्गको छेउमा रहेको घरमा आगो लागेको ९११ मार्फत प्रहरीलाई जानकारी दिइएको थियो। प्रहरी र दमकल टोली घटनास्थलमा पुगेपछि घर पूर्णरूपमा आगोले ढाकिएको र विस्फोटले ठूलो क्षति पुर्याएको पुष्टि भयो।
स्थानीय संचार माध्यम (मिडिया डब्लुपिभिआई)ले प्रहरी स्रोत उद्धृत गर्दै एक पुरुष र एक महिलाको शव भग्नावशेषबाट फेला परेको पुष्टि गरेको छ। यद्यपि प्रहरीको आधिकारिक विज्ञप्तिमा मृत्यु वा घाइतेबारे स्पष्ट जानकारी दिइएको छैन।
एबिसीन्यूजका अनुसार प्रहरी, दमकल विभाग, काउन्टी अभियोजकको कार्यालय र न्यू जर्सी अग्नि सुरक्षा अधिकृत(फायर मार्शल)को टोलीले विस्फोटको कारणबारे अनुसन्धान गरिरहेका छन्।
छिमेकी जिमी गिब्सनले भने, “ठूलो आवाज आएको थियो, मैले भने, ‘केही गलत भयो।’ केही सेकेन्डमै पुरै घर आगोमा जलेको थियो।” अर्की छिमेकी सुज्यान पिन्टोले भनिन्, “बम पड्किएको जस्तो लाग्यो।” धेरै छिमेकी विस्फोटको आवाजले रातभरि ब्यूझिएका थिए।
विस्फोटबाट नजिकको अर्को घर र सवारी साधन (कार)समेत क्षतिग्रस्त भएको देखिएको छ।
प्रतिक्रिया