पाकिस्तानले सबै उडानका लागि हवाई क्षेत्र खोल्यो, युद्धविरामपछि आकाश खुला

इनेप्लिज २०८२ वैशाख २७ गते १३:३५ मा प्रकाशित

पाकिस्तान विमानस्थल सरकारी निकायले देशको हवाई क्षेत्र पूर्ण रूपमा खोलिएको घोषणा गरेको छ। यो निर्णय भारत र पाकिस्तानबीच युद्धविराम सहमतिपछि आएको हो, जसले पछिल्ला केही दिनदेखि जारी भएको तनावपूर्ण सैन्य द्वन्द्वलाई विश्राम दिएको छ।

निकायद्वारा जारी वक्तव्यमा भनिएको छ: “अब पाकिस्तानको हवाई क्षेत्र सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि पूर्ण रूपमा खुला गरिएको छ।”

एक वरिष्ठ सुरक्षा अधिकारीले पाकिस्तानले विश्वलाई मार हान्न र जवाफी कारबाही दुवै गर्न सक्षम छ भन्ने देखाएको बताए । पछिल्ला ४८ घण्टामा नियन्त्रण रेखामा देखिएको व्यापक तोपखाना, युद्धबिमान ,मानव रहित यान (ड्रोन )तथा भारी हतियारको प्रयोग अब थामिने संकेत देखिएको छ।

दुई देशले अब बहुपक्षीय संवाद सुरु गर्ने सहमति पनि जनाएका छन्। पाकिस्तानका लागि सबैभन्दा संवेदनशील विषय भनेको जलसम्बन्धी विवाद हो। भारतले पाकिस्तानसँगको जल सन्धि स्थगित गरेकोले देशको कृषि र जनजीवनमा गम्भीर असर परेको छ।

यता दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय सेनाले पाकिस्तानका धेरै दावीहरूलाई “पूर्ण रूपमा असत्य” भनेको छ। उनले भने पाकिस्तानले भारतका एस-४०० प्रणाली र ब्रह्मोस क्षेप्यास्त्र स्थलहरू ध्वस्त पार्ने दावी पूर्णतः गलत र आधारहीन हो। बरु भारतले पाकिस्तानका स्थल तथा हवाई सम्पत्तिहरूमा ठूलो क्षति पुर्‍याएको छ। साथै पाकिस्तानका धेरै हवाई अड्डाहरूमा भारतले महत्वपूर्ण क्षति पुर्‍याएको उनले बताए ।

दक्षिण एशियामा युद्धविरामले केही राहत दिए पनि दुबै पक्षका दावी–विरोधाभाषबीच स्थिति अझै संवेदनशील छ। अब ध्यान दीर्घकालीन संवाद र जल अधिकार जस्ता मुद्दामा केन्द्रित हुनुपर्ने समय आएको छ।

प्रतिक्रिया