राष्ट्रपति ट्रम्पको घोषणा : भारत–पाकिस्तान बीच पूर्ण र तात्कालिक युद्धविरामको ऐतिहासिक सहमति

इनेप्लिज २०८२ वैशाख २७ गते १३:१३ मा प्रकाशित

वासिङ्टन, डिसी —अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानले पूर्ण र तात्कालिक युद्धविराममा सहमति जनाएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले शनिबार बिहान आफ्नो सामाजिक संजाल ट्रुथ सोसल प्रकाशित गर्दै यो ऐतिहासिक सहमतिबारे जानकारी दिएका हुन्।

उनले लेखे: “संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरि चलेको वार्तापछि, म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान पूर्ण र तात्कालिक युद्धविराममा सहमत भएका छन्।

दुवै देशलाई सामान्य बुद्धि र उत्कृष्ट कूटनीतिक विवेक प्रयोग गरेकोमा बधाई ! यो संवेदनशील विषयमा ध्यान दिएकोमा धन्यवाद ! ट्रम्पको यो घोषणा अन्तर्राष्ट्रिय कूटनीतिको दृष्टिकोणले ठूलो सफलता मानिएको छ, जसले दक्षिण एशियामा सम्भावित युद्धको खतरा हटाएको छ।

अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले पनि भारत–पाकिस्तानबीचको विवादमा अमेरिका प्रत्यक्ष रूपमा हस्तक्षेप गर्ने पक्षमा छैन भनेका थिए । उनले भारत र पाकिस्तानबीचको यो विवाद हाम्रो मौलिक सरोकार होइन। अमेरिका अब आफ्नो चासो केवल राष्ट्रिय हितमा सीमित राख्ने बताएका थिए ।

राष्ट्रपति ट्रम्पको मध्यस्थता र नेतृत्वमा आएको यो युद्धविराम सहमति दक्षिण एशियामा शान्ति कायम गर्न एक महत्वपूर्ण मोड साबित हुन सक्छ। भारत र पाकिस्तान दुवैले पछिल्लो दिनमा सीमामा आक्रोशपूर्ण गतिविधि देखाएका थिए, तर अब शान्तिको संकेत देखा परेको छ। अब सबैको ध्यान दुवै देशले वार्तालाई कति अगाडि बढाउनेछन् भन्नेमा केन्द्रित भएको छ।

प्रतिक्रिया