शक्तिशाली शान्तिको सुरुवात: पाकिस्तानले दियो राष्ट्रपति ट्रम्पलाई धन्यबाद : तर सीमामा अझै तनाव

इनेप्लिज २०८२ वैशाख २७ गते १७:१४ मा प्रकाशित

पाकिस्तानले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्षेत्रीय शान्तिका लागि देखाएको नेतृत्व र सक्रिय भूमिकाको लागि धन्यवाद दिएको छ। पाकिस्तानको भनाई अनुसार, अमेरिका मार्फत प्राप्त यो नतिजा पाकिस्तानले क्षेत्रीय शान्ति र स्थायित्वको हितमा स्वीकार गरेको हो।

प्रधानमन्त्री शहबाज शरीफले युद्धविराम सम्झौताले दशकौँ देखि क्षेत्रलाई सताउँदै आएको समस्याको समाधानतर्फ नयाँ सुरुवात गरेको बताएका छन्। उपराष्ट्रपति जेडी भान्स र विदेशसचिव मार्को रुबियोको योगदानलाई समेत पाकिस्तानले उच्च सम्मान दिएको छ।

तर, युद्धविरामको घोषणापछि पनि तनावपूर्ण घटनाहरू जारी छन्। भारतको गुजरातस्थित कच्छ जिल्लामा मानव रहित यान (ड्रोन)देखिएपछि पूर्ण अन्धकार (ब्ल्याकआउट) लागू गरिएको छ। भारतीय प्रशासित कश्मीरका दुई ठूला शहरहरूमा विस्फोटको आवाज सुनिएको छ।

कम्तीमा पाँच ठाउँमा नियन्त्रण रेखामा गोलीबारी र बम आक्रमण भएको खबर आएको छ। पेसावरमा मानवरहित यान (ड्रोन )देखिएपछि पाकिस्तानी सुरक्षाबलले हवाई सुरक्षा सक्रिय गरेका छन्, यद्यपि मानव रहित यान (ड्रोन) कसले उडाएको भन्ने अझै स्पष्ट छैन।

स्थानीय स्रोतका अनुसार, कश्मीर क्षेत्रमा अझै गोलाबारी जारी छ र केही प्रक्षेपास्त्रहरू पाकिस्तानी हवाई क्षेत्रभित्र पसेको खबर छ। युद्धविरामले आशा र सम्भावना ल्याएको छ, तर त्यसलाई टिकाइराख्न गोलाबारी बन्द हुनैपर्छ। अमेरिकी अधिकारीहरू यो सम्झौतालाई स्वागत योग्य कदम बताउँदै दुबै मुलुकबीचको विवाद समाधानतर्फको मार्ग खोलेको बताइरहेका छन्।

प्रतिक्रिया