कोलम्बिया विश्वविद्यालयमा परीक्षा अवधिमा तनाव: पुस्तकालय ‘मुक्ति क्षेत्र’ घोषित, प्रशासनद्वारा कडा चेतावनी

इनेप्लिज २०८२ वैशाख २४ गते २२:४७ मा प्रकाशित

न्यूयोर्कस्थित प्रतिष्ठित कोलम्बिया विश्वविद्यालयको बटलर पुस्तकालयमा बुधबार सयभन्दा बढी मुखावरण (मास्क) छोपेका व्यक्तिहरूले जबरजस्ती प्रवेश गरी त्यसको एक भाग कब्जा गरेका छन्। ‘इजरायल विरोधी’ भनिएका यी प्रदर्शनकारीहरूले पुस्तकालयलाई ‘बासेल अल-आराज पपुलर युनिभर्सिटी’ नाम दिँदै त्यसलाई ‘मुक्ति क्षेत्र’ घोषणा गरेका छन्।

परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूलाई पढ्न रोक लगाएर बाहिर जान बाध्य बनाएको विद्यार्थीहरूको भनाइ छ। उनीहरूले डेस्कमाथि चढी स्वतन्त्र प्यालेस्टाइ भन्दै नाराबाजी गरे र विश्वविद्यालयले इजरायलमा लगानी बन्द गर्न माग गरे।

प्रदर्शनकारीहरूले महमूद खलीलको समर्थनमा आन्दोलन चर्काएका हुन्। खलील, कोलम्बियाका स्नातक हुन् भने गत महिना अमेरिकाको अध्यागमन निकायद्वारा पक्राउ परेका थिए र उनको विद्यार्थी प्रवेशाज्ञा र ग्रीनकार्ड (आवासीय स्थायी पत्र )रद्द गरिएको थियो। उनी हाल लुजियानाको हिरासत केन्द्रमा छन्।

विश्वविद्यालयले यस प्रकारको अवरोधलाई अस्वीकार्य भन्दै चेतावनी दिएको छ। ” परिसर र शैक्षिक गतिविधिमा हुने यस्ता अवरोध सह्य हुने छैनन्,” विश्वविद्यालयका प्रवक्ताले भने।

सुरक्षा अधिकारीहरूले प्रदर्शनकारीहरूलाई परिचय खुलाउन आग्रह गरेका थिए । नमान्नेहरूलाई विश्वविद्यालयको नीति उल्लंघन गरेको मानिने चेतावनी दिइएको थियो। गत वर्ष ह्यामिल्टन सभा कक्ष कब्जा गरिएको घटना दोहोरिने आशंकामा विश्वविद्यालयले नयाँ शिविरहरू बन्न नदिने र कानूनअनुसार कारबाही गर्ने बताएको छ।

यो घटनाले विश्वविद्यालयभित्र स्वतन्त्र अभिव्यक्ति बनाम क्याम्पस अनुशासनको बहस फेरि चर्काएको छ।

प्रतिक्रिया