भारतको क्षेप्यास्त्र हमला: आतंकको गढ तहसनहस, पाकिस्तानलाई कडा चेतावनी

इनेप्लिज २०८२ वैशाख २३ गते २२:२३ मा प्रकाशित

भारतले पाकिस्तान र पाकिस्तानको जम्मु–काश्मीरमा रहेको ‘आतंकवादी संरचना’माथि ‘सिन्दूर कारवाही ’ अन्तर्गत एकसाथ नौ स्थानमा क्षेप्यास्त्र (मिसाइल)आक्रमण गरेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ।

पाकिस्तानी सेनाका अनुसार आक्रमणहरूमा कोटली, मुजफ्फराबाद र बहावलपुरसहित पाँच स्थानहरूमा प्रहार भएको छ। यस आक्रमणमा तीन जनाको मृत्यु र १२ जना घाइते भएको पुष्टि गरिएको छ।

भारतीय सेनाले आक्रमणपछि वक्तव्य जारी गर्दै भन्यो, “न्याय सम्पन्न भयो।” भारतले गत अप्रिलमा भएको घातक ‘पहलगाम हमला’को दोष पाकिस्तानलाई दिएको छ, जसमा २६ जना मारिएका थिए।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यसलाई “युद्धको घोषणा” भन्दै बलियो जवाफ दिइरहेको बताएका छन्। “पाकिस्तानसँग बलियो प्रतिकार गर्ने पूरा अधिकार छ,” उनले भने।

पाकिस्तानी सूचना मन्त्री अत्ताउल्लाह तारारले अप्रिलको अन्त्यतिर भारत निकट भविष्यमा सैन्य कारबाही गर्ने तयारीमा रहेको विश्वसनीय सूचना प्राप्त भएको बताएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट प्रतिक्रिया दिँदै यस घटनालाई “दुर्भाग्यपूर्ण” बताएका छन्। “मैले अहिले मात्र यसबारे सुनेँ। आशा छ चाँडै अन्त्य हुनेछ,” ट्रम्पले भने।

अमेरिकी विदेश बिभागले घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। विदेश सचिव मार्को रुबियोसहितका अधिकारीहरूले भारतको प्रतिकार रोक्ने प्रयास गरिरहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया