कविता: एक हौं, एक छौं !

मदन बस्नेत। टोरोन्टो २०८२ वैशाख २१ गते ९:५७ मा प्रकाशित

हो गणितमा

एक र एक जोड्दा

दुई हुन्छ

प्रेम गणित जस्तो हुन्न

यहाँ एकमा एक जोड्दा

एक नै हुन्छ

तिमी एक

म एक

हामी दुई अलग भएर पनि

एक छौं

एक हौं

त्यसैले प्रेममा

गणित फेल हुन्छ

एक र एक

जति जोडे पनि

एक नै हुन्छ।।

बादल बादलसंग मिसिन्छ

र त पानी बन्छ

नदि नदिसंग जोडिन्छ

र त महासागर बन्छ

तिमी मसंग

अनि म तिमीसंग

जोडिएकैले त जीवन

गुलजार छ।।

तिम्रो हेराई

मेरो लक्ष्य

तिम्रो ठेगाना

मेरो गन्तव्य

तिम्रो सपना

मेरो चाहना

तिमी मेरो

अनि
म तिम्रो छाया।।
तिमी
तिमी जस्तो छैनौं
म जस्तै छ्यौं
म म जस्तो हैन
तिमी जस्तै छु
तिम्रो हाम्रो हेराइ
अहँ भिन्न छैन
तिम्रो हाम्रो बुझाइ
फरक केहि हैन
त्यसैले
हामी भिन्न हैनौं
अभिन्न हौं
एक हौं
एक छौं।।

मदन बस्नेत।

प्रतिक्रिया