भारतमा विद्यालयको खाना खाँदा सयौं बालबालिका बिरामी: मरेको सर्प भेटिएको दाबी, मानव अधिकार आयोगको छानबिन

इनेप्लिज २०८२ वैशाख १८ गते २३:४६ मा प्रकाशित

भारतको बिहार राज्यस्थित मोकामामा सयौं बालबालिका विद्यालयको खाना खाँदा बिरामी परेका छन्। खाना भित्र मरेको सर्प भेटिएको आशंकाले देशभर सनसनी फैलिएको छ।

सिएनएनका अनुसार अप्रिल २४ मा झण्डै १०० बढी बालबालिका अस्वस्थ भएपछि कम्तीमा दुई दर्जन विद्यार्थी अस्पताल भर्ना गरिएका थिए।

भारतको राष्ट्रिय मानव अधिकार आयोगका अनुसार खाना पकाउने एक कर्मचारीले खाना बाँड्नु अघि मरेको सर्प हटाएर बाँडेका थिए। आयोगले स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै भनेको छ, “खाना बनाउनेले मरेको सर्प हटाएर विद्यार्थीहरूलाई खाना बाँडेका थिए।”

खाना खाएका कतिपय बालबालिकामा टाउको दुख्ने, वान्ता हुने लगायत लक्षण देखिएका छन्। यो घटनाले स्थानीयमा आक्रोश उत्पन्न गराएको छ र आक्रोशित ग्रामीणहरूले सडक अवरोधगरेका छन्।

मानव अधिकार आयोगले घटनाबारे दुई साताभित्र विस्तृत प्रतिवेदन बुझाउन बिहार प्रहरीलाई निर्देशन दिएको छ र बालबालिकाहरूको स्वास्थ्य अवस्थाबारे तत्काल जानकारी मागेको छ।

आयोगले भनेको छ, “यी विवरणहरू सत्य भएमा, यसले विद्यार्थीहरूको मानव अधिकारको गम्भीर उल्लङ्घन देखाउँछ।”

भारतमा विद्यालयहरूमा निःशुल्क भोजन कार्यक्रम (मिड -डे -मिल स्किम ) संचालन हुँदै आएको छ जसले लाखौं बालबालिकालाई पोषण र शिक्षा दिन सहयोग पुर्‍याउँछ।

तर २०१३ मा पनि यस्तो भोजनमा विषादी भेटिएर कम्तीमा २३ विद्यार्थीको मृत्यु भएको घटना भएको थियो । त्यस पछि सरकारले सुरक्षा मापदण्ड कडा बनाउने निर्णय गरेको थियो। अझ यस्ता भयावह लापरवाही किन भइरहेका छन् भन्ने प्रश्न फेरि उठ्न थालेको छ।

प्रतिक्रिया